NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बदलियो राष्ट्रिय सभाको शक्ति सन्तुलन, माओवादी पहिलो, एमाले खुम्चियो

काठमाडौं । १९ सिटका लागि बिहीबार भएको निर्वाचन परिणामले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ । प्रतिनिधिसभामा तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । संसद्को पहिलो ठूलो दल कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् ।

हाल राष्ट्रिय सभामा एमालेका १८, माओवादी १६, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, स्वतन्त्र दुई, लोसपा र जनमोर्चाका एक–एकजना छन् । तर, २० फागुनमा एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक बाहिरिँदै छन् ।

बिहीबार निर्वाचितमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई, एमाले र जसपाका एक–एकजना छन् । यस आधारमा २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ ।

प्रतिनिधिसभातर्फ भने कांग्रेस ८८ (प्रत्यक्ष ५६ ‘एक निलम्बित’/समानुपातिक ३२), एमाले (प्रत्यक्ष ४४ ‘एक निलम्बित’/समानुपातिक ३४), माओवादी (प्रत्यक्ष १८/समानुपातिक १४), रास्वपा २१ (प्रत्यक्ष ८/समानुपातिक १३), राप्रपा (प्रत्यक्ष ७/समानुपातिक ७), जसपा (प्रत्यक्ष ७/समानुपातिक ५), एकीकृत समाजवादी १०, जनमत (प्रत्यक्ष १/समानुपातिक ५), लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आम जनता १–१, स्वतन्त्र २ र रिक्त एक सिट छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।