NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भारतको खर्चमा दुई संसदीय समितिका २८ सांसद दिल्ली र हिमाञ्चल जाँदै

काठमाडौं । भ्रमणका लागि भारत जाने भएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका २८ सांसद भ्रमणमा जान लागेको संसद् सचिवालयले जनाएको छ । भ्रमणको खर्च भारतीय पक्षले नै व्यहोर्नेछ ।

सचिवालयका अनुसार भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा सभापति राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यीय टोली मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गर्दै छ । त्यसपछि कृषि समितिका २० जना सदस्य बाँदर बन्ध्याकरण प्रविधिको स्थलगत अध्ययन गर्न फेब्रुअरी दोस्रो साता भारतको हिमाञ्चल प्रदेश जाने तयारीमा छन् ।

अन्तर्राष्ट्रिय समिति सभापति यादवले ३० जनवरीदेखि ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्न जान लागेको बताए । उनका अनुसार कांग्रेसबाट योगेश गौचन, एमालेबाट सुनिता बराल, हरि उप्रेती, सम्झना थपलिया, माओवादीबाट छिरिङ ल्हामु लामा (तामाङ), रास्वपाबाट शिशिर खनाल र नागरिक उन्मुक्तिका गंगाराम चौधरी भ्रमणमा जानेछन् । यसैगरी, समिति सचिव बबिता खनालसहित उपसचिव र शाखा अधिकृतसमेत तीनजना सचिवालय सदस्य पनि भ्रमण दलमा हुनेछन् ।

सभापति यादवको नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुखसँग भेट गर्नेछ । ‘भारतीय संसद्को नयाँ भवनमा बैठक हुनेछ । उनीहरूको संसदीय प्रक्रिया कसरी चल्छ, त्यसबारे जानकारी गराउनुहुन्छ,’ उनले भने । सभापति यादवका अनुसार नेपाली प्रतिनिधिमण्डलले भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिका सभापति र सदस्यहरू द्विपक्षीय अनुभव आदानप्रदान गर्नेछ । राज्यसभाको भ्रमण तथा राज्यसभाका अध्यक्ष एवं उपराष्ट्रपतिसँग भेट गर्नेछ ।

यसका अलावा भारतीय विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको सभापति यादवले बताए । त्यसपछि नेपाली राजदूतावासमा पूर्वभारतीय राजदूतहरूसँग छलफल गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार अर्काे दिन नेपाली प्रतिनिधिमण्डल मुम्बई जानेछ । मुम्बईमा महाराष्ट्रका गर्भनर र मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रम छ । त्यहाँका उद्योगी व्यवसायीसँग पर्यटन क्षेत्रमा लगानी भित्र्याउने गरी छलफल गर्ने कार्यतालिका छ । मुम्बईबाट नेपाली प्रतिनिधिमण्डल गोवा गएर त्यहाँको पर्यटन विकासको मोडलबारे जानकारी लिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।