NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण

एजेन्सी । एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो ।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ र प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुङ्गामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुङ्गा अवतरण भएको पुष्टि गरे। उनले शरणार्थीहरूको यकिन सङ्ख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीहरूले एक सय ३७ शरणार्थी आएको अनुमान गरेको बताए ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार सात सय ५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् ।

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रहरूमा अल्पसङ्ख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुङ्गालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनीहरू आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।

यद्यपि अरुले भने आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरूको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दाहरूसँग झगडा गर्ने उनीहरूले दावी गरेका छन् । डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए ।

इन्डोनेसिया संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यान्माबाट शरणार्थीहरू लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार पाँच सयभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिङ्ग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ ।