NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सनराइज अपार्टमेन्टबाट स्कुटर चोर्ने समातिए

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।

ललितपुर महानगरपालिका–१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष