NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पाकिस्तानमा आज आमनिर्वाचन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बढ्दो सैनिक हस्तक्षेप, गहिरिँदो आर्थिक संकट र दलबीचको तीव्र ध्रुवीकरणमाझ पाकिस्तानमा आज आमनिर्वाचन हुँदैछ । कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रिय सभा वा संसदको तल्लो सदनको २६६ र प्रदेशसभातर्फ ४ प्रान्तका ५९३ सिटमा निर्वाचन हुन लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अहिले बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने जनाएका छन् ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार, तल्लो सदन र प्रदेशसभाको निर्वाचनमा कुल ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा ४ हजार ८०७ पुरुष र ३१२ महिला छन् । दुई जना यौनिक अल्पसंख्यक पनि निर्वाचनमा उम्मेदवार बनेका छन् । देशभरका कुल १२ करोड ८५ लाख ८५ हजार ७६० मतदाताले आगामी कार्यकालका लागि आफ्नो मतमार्फत जनप्रतिनिधि चयन गर्नेछन् ।

पाकिस्तानको यो निर्वाचनमा जुन दलले बहुमत हासिल गर्छ, त्यही दलका नेताले देशको नेतृत्व गर्नेछन् । त्यसैले धेरैको चासो पाकिस्तानको भावी प्रधानमन्त्री को बन्ला भन्नेमा छ ।

इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई), पूर्वप्रधानमन्त्री नवाज सरिफको मुस्लिम लिग–नवाज (पीएमएल–एन) र बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) पाकिस्तानका मुख्य प्रतिस्पर्धी दल हुन् । यी तीन दलमध्ये इमरान खान भ्रष्टाचार आरोपमा जेल पुगेका छन् भने उनी समर्थित पार्टीका उम्मेदवारलाई पनि पार्टीको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न दिइएको छैन । इमरान खान जेल परेर उनी समर्थित उम्मेदवार स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिनु, पाकिस्तानी सेना पिएमएल–एनको दाहिना हुनुलाई नवाज सरिफ भावी प्रधानमन्त्री बन्ने आधार ठानिएको छ । प्रक्षेपणअनुरूप पिएमएल–एनले जनमत पाएमा नवाज चौथो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने छन् । यसअघि उनी १ नोभेम्बर १९९० देखि १८ जुलाई १९९३, १७ फेब्रुअरी १९९७ देखि १२ अक्टुबर १९९९ र ५ जुन २०१३ देखि २८ जुलाई २०१७ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

सुरक्षाको चिन्ता

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार बलुचिस्तान प्रान्तका दुई छुट्टाछुट्टै स्थानमा बम विस्फोट भएको छ । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् ।

निर्वाचनको अघिल्लो दिन हिंसात्मक घटना भएकाले पाकिस्तानमा त्रासको वातावरण छ । त्यसैले त्यहाँको सुरक्षालाई चुनौतीका रूपमा हेरिएको छ ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीसहित ६ लाख ५० हजार जनशक्ति परिचालन गरिएको जनाएका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि अघिल्लो दिन भएको विस्फोटमा मानिसले ज्यान गुमाएकाले मतदाताहरू आश्वस्त हुन सकेका छैनन् ।