NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाल शरणार्थीको सेल्टर, तीन वर्षमै तेब्बर

काठमाडौं । खुला सीमा, खुकुलो अध्यागमन नीति र कमजोर नियमन प्रणालीका कारण नेपालमा अवैध शरणार्थी संख्या तीन वर्षमा तेब्बर भएको छ । तेस्रो देश जान ‘ट्रान्जिट’का रूपमा नेपाली भूमिलाई शरणार्थीहरूले दुरुपयोग गर्ने क्रम बढेको छ । विज्ञहरूले यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिले जोखिम ठानेका छन् ।

अध्यागमन विभागका अनुसार हाल नेपालमा १६ देशका नौ सय ८८ अवैध शरणार्थी छन् । जसमध्ये ६ सय ८२ जनाले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयबाट परिचयपत्र लिइसकेका छन् भने अन्य तीन सय ६ जनाले पनि परिचयपत्रका लागि आवेदन दिएका छन् । विभागको तीन वर्षअघिको विवरणअनुसार यस्ता अवैध शरणार्थीको संख्या करिब तीन सयभन्दा कम थियो । म्यानमारका रोहिग्ंयासहित विभिन्न युद्धग्रस्त देशबाट नेपालमा आएर शरणार्थीको रूपमा बस्ने प्रवृत्ति बढेको छ ।

अवैध शरणार्थीसँगै यसले सुरक्षा चुनौतीसमेत थपिँदै गएको सुरक्षाकर्मी बताउँछन् । अफ्रिकी देशका नागरिकहरूसमेत पर्यटकका रूपमा नेपाल आएर शरणार्थीका रूपमा बसेका छन् । त्यस्तै, द्वन्द्वमा रहेका देशहरू रसिया, युक्रेन, यमनलगायत देशबाट पनि आउने क्रम बढेको छ ।

म्यानमार सरकारको दमनका कारण त्यहाँबाट भागेका रोहिंग्या शरणार्थी नेपालका लागि ठूलो चुनौती बन्ने अवस्था देखिएको छ । उनीहरूको संख्या उपत्यकामा निरन्तर बढिरहेको छ । सुरक्षा निकायको पछिल्लो तथ्यांकअनुसार रोहिंग्याको संख्या पाँच सय आठ पुगेको छ ।

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालमा रोहिंग्या शरणार्थी प्रवेश गरेका हुन् । नेपालले शरणार्थीको मान्यता नदिए पनि यहाँ आएर उनीहरू क्याम्पकै शैलीमा समूहगत रूपमा बस्दै आएका छन् । हाल चार सय १३ जना रोहिंग्याले युएनएचसिआरबाट शरणार्थीका रूपमा परिचयपत्र पाइसकेका छन् भने थप ९५ जनाले यसका लागि निवेदन दिएका छन् । धेरैजसो रोहिंग्या कपनको राममन्दिर क्षेत्रमा टहरा बनाएर बसेका छन् । ललितपुरको टीकाथली तथा भक्तपुरको विभिन्न बाहिरी क्षेत्रमा खाली जग्गामा पनि बसेको सुरक्षा निकायको प्रतिवेदन छ । यद्यपि, भारत हुँदै आउने क्रम भने घटेको छ । भारतमा ४० हजारभन्दा धेरै रोहिंग्या छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।