NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ४ गते

एकपक्षीय ढंगले आरोप लगाउनेविरुद्ध कानूनी उपचारमा जाने कृष्ण कँडेलको चेतावनी

'कलाकारलाई शोषण गरेको छैन, सबै आरोप झुटा हुन्'

काठमाडौं । इन्द्रेणीका सञ्चालक कँडेलले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । दाबी गरिएजस्तो कुनै पनि कलाकारमाथि शोषण नगरेको उल्लेख गर्दै उनले त्यसलाई कपोलकल्पित, निराधार र भ्रमपूर्णको संज्ञा दिए ।

‘मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य गरेको छैन। झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

कलाकारलाई गर्ने व्यवहारबारे शंका लागे इन्द्रेणीमा आएर त्यहाँ कार्यरत ३० भन्दा बढी कलाकारसँग बुझ्न पनि कँडेलले आग्रह गरेका छन् ।

‘इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुन्छ,’ कँडेलले भने ।

आफूविरुद्ध मिडिया तथा व्यक्तिले एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरेको भन्दै कँडेलले त्यसप्रति आपत्ति मात्रै जनाएका छैनन्, कानूनी उपचारमा जाने चेतावनी पनि दिएका छन् ।

‘मविरुद्ध लागेको झुटो आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहीविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने छु,’ कँडेलको चेतावनी छ ।

लोकसंस्कृतिको जगेर्ना गरेर छिपेर बसेका कलाकार प्रस्फूटन गराउँदै दीन–दुःखीको हितमा आफ्नो समय व्यतीत गर्दागर्दै पनि आक्रमण भएको भन्दै उनले दुःखसमेत व्यक्त गरेका छन् ।

‘दिनरात झरी, बादल, कोरोना तथा दैवी प्रकोप केहीको प्रवाह नगरीकन अहोरात्र जीवन समर्पण गरे।आज यस सस्थाका सबै कर्मचारी तथा कलाकारलार्इ समान व्यवहारको काम गर्दा गर्दै पनि केही कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले संचालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलार्इ बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म सार्है दुखित छु,’ कँडेलले फेसबुकमा प्रष्टीकरण दिँदै लेखेका छन् ।

बुधबार साँझ फेसबुक लाइभमा आएर गायिका शर्मिला श्रेष्ठ, वाद्यबादकहरू खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मीप्रसाद घिमिरे र सवारी चालक जीवन टन्डनले लामो समयदेखि कार्यरत इन्द्रेणीले दुर्व्यवहार र कुटपिट गर्दै आफूहरूलाई संस्थाबाट निकालेको आरोप लगाएका थिए ।  कलाकारहरूको यस्तो आरोपपछि सामाजिक सञ्जालमा चर्चित कार्यक्रम इन्द्रेणी र यसका सञ्चालकमाथि प्रश्न उठिरहेका छन् ।

विवादमा इन्द्रेणीका कृष्ण कँडेल, ‘कुटपिट गरेर कलाकार निकालेको’ आरोप – NepalWatch