NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

त्रिपालमै गयो ३८ भूकम्पपीडितको ज्यान

काठमाडौं ।भूकम्पले घर भत्किएको चार महिनामा समेत ओत बनाउन नसकेर अलपत्र पीडितहरूमध्ये चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका हुन् । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण अधिकांश पीडित बिरामी छन् ।

मृत्यु हुनेमा जाजरकोटका ३२ र रुकुम पश्चिमका ६ जना छन् । सबैभन्दा धेरै जाजरकोटको कुशे गाउँपालिकामा ९ जनाको ज्यान गएको छ । त्यस्तै जुनेचाँदेमा ५, नलगाडमा ४, भेरीमा ३, बारेकोटमा ४ र छेडागाडमा ७ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको आठबिसकोटमा ३, बाँफिकोटमा १ र सानीभेरीमा २ जनाको त्रिपालमा बसिरहेकै अवस्थामा ज्यान गएको छ ।

जाजरकोटको कुशे र बारेकोट क्षेत्रको माथिल्ला भेगमा हिमपात हुने गर्छ । जसका कारण अत्यधिक चिसोले धेरैको ज्यान गएको आधारभूत विद्यालय कुशे–६ का शिक्षक अमर ओलीले बताए । ‘अत्यधिक चिसो हुने ठाउँको जाडो त्रिपालले कसरी छेकिन्थ्यो ?,’ उनले भने, ‘चिसोका कारण बिरामी नभएका पीडितका त्रिपाल भेटाउनै मुस्किल छ ।’ कतिपय दीर्घरोगीले नियमित औषधि सेवन गर्न नपाउँदा पनि ज्यान गुमाएको उनले बताए । उनका अनुसार वडा ४ मा झन्डै ९ सय परिवार घरबाहिर रहेकामा मुस्किलले २ सय मात्र टहरा निर्माण भएका छन् ।

सरकारले अस्थायी टहरा बनाउन दुई किस्तामा ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउँदै आए पनि कार्यविधि अभाव र सरकारी कर्मचारीले तदारुकता नदेखाउँदा आवास निर्माणले गति पाएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।