NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दूधजन्य पदार्थको आयातमा प्रतिबन्ध, डेरी संघले गर्यो स्वागत

झापा । सरकारले डेरीजन्य पदार्थको आयातमो प्रतिबन्ध लगाएको छ । सरकारको यस्तो कदमसँगै विभिन्न संघ–संगठनले यसको स्वागत गरेका छन् ।

कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको निर्णयमा खुसी व्यक्त गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।

“सङ्घले सात बुँदे निर्णय गरेको छ”, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, “आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुसी भएका छौँ ।”

सङ्घले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेकोसमेत उनले बताए । कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी सङ्घ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो ।

मौज्दातमा पाँच लाख केजी नौनी

बिक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घ्यू मौज्दातमा रहेको व्यवसायी बताउँछन् । विगत छ महिनाअघिदेखि बिक्री न्यून भएकाले नौनी घ्यू थुप्रिँदै गएको हो । उद्योगीका अनुसार दूधको उत्पादन बढेको बढ्यौँ छ, तर दूध र दूधबाट बनेका विभिन्न उत्पादनको बिक्री हुन सकेको छैन ।