NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुन गइरहेको खेलमा पहिले टस जितेको नेदरल्याण्डस्ले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

जारी सिरिजमा दुवैले चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् । यसअघि नेपाल र नेदरल्याड्सबीच भएको प्रतिस्पर्धामा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आज पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । उता, नेदरल्याण्ड्स भने आजको खेल पक्षमा पारेर बदला लिने ध्याउन्नमा छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गर्ने निर्णय लिएको छ । देव खनाल र सोमपाल कामीलाई बेञ्चमा राखेर नेपालले आरिफ शेख र गुल्सन झालाई अवसर दिएको हो ।

लिग टूमा नेपाल, नामिबिया र नेदरल्याण्डस् सहभागी छन् । जसमा चार खेलमा तीन खेल जितेर नामिबिया ६ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल २ अंक बटुलेर दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको भने दुई अंक छ ।