NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

छापामा आज : शिलान्यास भएका ६५५ अस्पतालमध्ये अधिकांश अलपत्र

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । मुख्य प्राथमिकतामा भने भजन शिरोमणि भक्तराज आचार्यको निधन, प्रि बजेट छलफल, किसानलाई दूधको भुक्तानी दिन प्रधानमन्त्रीले दिएको निर्देशन परेको छ ।

कान्तिपुरले तीन वर्षअघि शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र परेको लेखेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको आर्थिक वर्ष ०७७–७८ को नीति तथा कार्यक्रमअनुसार ०७७ मंसिर १५ गते ३९६ अस्पतालको शिलान्यास गरेका थिए । पहिलो चरणमा शिलान्यास गरिएका अस्पतालको निर्माण कार्य अघि नबढ्दै पुनः २५९ अस्पताल निर्माणको अर्को निर्णय भएको थियो ।

कान्तिपुर समाचार अनुसार शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये कतिपयको निर्माण पालिकाको जग्गा विवाद र बजेट अभावले अघि बढ्न सकेको छैन भने सुरु भइसकेका कतिपय ठेकेदारको लापरबाहीले बीचमै रोकिएका छन् ।

संसदमा प्रि बजेट छलफल पहिलो पटक तीन महिनाअघि नै सुरु भएकोलाई पनि कान्तिपुरले आज निकै प्राथमिकतापूर्वक छापेको छ । यसअघि विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिनअघि बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्ने व्यवस्था रहेकोमा त्यसलाई सुधारेर तीन महिनाअघि नै प्रि बजेट छलफल हुनु सकारात्मक रहेको समाचारको सार छ ।

भजन शिरोमणि भक्तराज आचार्यको निधनलाई कान्तिपुरले संगीतका भक्तको अवसान भनेको छ ।

नयाँ पत्रिकाले ‘बदलियो बजेट निर्माणको शैली र प्राथमिकता’ शीर्षकमा मुख्य समाचार बनाएको छ । तीन महिनापूर्व नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर सरकारले बजेट निर्माणको प्रक्रिया बदलेको समाचारमा उल्लेख छ ।

तीन महिनाअघि नै प्रि बजेट छलफल सुरु गर्नु सकारात्मक भएको सरोकारवालाले बताएका छन् । पूर्वसचिव गोपीनाथ मैनालीले तीन महिनाअगावै बजेटको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक हुँदा सदन र सरोकारवालाबीच आउने बजेटको विषयमा छलफल गर्न पर्याप्त समय रहने बताएका छन् । हतारमा बजेट ल्याउँदा कार्यान्वयनमा जटिलता देखिएको स्मरण गर्दै उनले यसबाट राहत मिल्ने विश्वास व्यक्त गरे ।

‘अस्ताए भजनशिरोमणि’ शीर्षकमा नयाँ पत्रिकाले सोमबार दिवंगत गायक भक्तराज आचार्यलाई सम्झेको छ । जिब्रो गुमाउँदा गुन्जिन नछाडेका भक्तराज जीवन गुमाए पनि नेपाली गीत–संगीत रहेसम्म गुञ्जिरहने नयाँ पत्रिकाको ठम्याइ छ ।

यसबाहेक दूध किसानलाई भुक्तानी दिन प्रधानमन्त्रीले निर्देशन दिएको, संसदको सुरक्षामै गम्भीर कमजोरी भएकोलगायत विषयलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।

नागरिकले यातायातमा १० वर्षमा १० अर्ब भ्रष्टाचार भएको लेखेको छ भने राजधानी दैनिकमा सार्वजनिक ऋणको सावा र ब्याज तिर्नै एक खर्ब चाहिने हिसाब छ ।