NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबी, झस्कियो कांग्रेस

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका हुन् । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गराएको महामन्त्री विश्वप्रकाश शर्माले बताए । माघ ११ मा १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित भएका हुन् । शर्माका अनुसार माओवादी र कांग्रेसबीचकै समझदारीमा राष्ट्रिय सभा सदस्यका लागि सिटौलालाई अघि सारिएको हो ।

गठबन्धनभित्रबाटै कोशी प्रदेशमा भएको गडबडीका कारण माओवादी कांग्रेससँग सशंकित बन्न थालेको छ । कोशीमा गठबन्धनबाट सिटौला निर्वाचित हुँदा माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएकी थिइन् । कार्कीलाई एमाले नेतृ रुक्मिणी कोइरालाले हराएकी थिइन् । त्यसयता राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छाड्न नहुने मत माओवादीमा सशक्त बन्दै गएको छ । महासचिव देव गुरुङका अनुसार स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीले छाडन नहुने बताएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने त्यसबारे केही बोलेका छैनन् । ‘चुनाव प्रक्रिया सुरु भइनसकेकाले पार्टी अध्यक्षज्यूले समयक्रममा निर्णय गरौंला भन्नुभएको छ,’ गुरुङले भने ।

कांग्रेस नेताहरूले भने दुई पार्टीका नेतृत्वबीच राष्ट्रपतिको निर्वाचन हुनुअघि नै सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने अनौपचारिक समझदारी भएको दाबी गर्दै आएका छन् । माओवादी महासचिव गुरुङले भने यस्तो कुनै समझदारी नभएको दाबी गरे । पार्टी बैठकमा दाहालले पनि कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिने भन्ने समझदारी नभएको जानकारी गराएका थिए । ‘कुराकानीका क्रममा प्रसंग चले होलान्, तर औपचारिक तहमा कुनै सहमति भएको होइन/छैन भन्ने कुरा नै अध्यक्षज्यूको छ,’ गुरुङले भने ।

माओवादीले उम्मेदवार नै अघि सार्ने परिस्थिति बनेको खण्डमा बढी सम्भावना वर्तमान राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र नवनिर्वाचित सांसद झक्कु सुवेदी भएको नेताहरूले बताए । अर्यालको कार्यकाल चार वर्ष बाँकी छ भने भर्खरै निर्वाचित सुवेदी आगामी ६ वर्षसम्म राष्ट्रिय सभामा हुनेछन् । कान्तिपुर दैनिकमा खबर छ ।