NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

दुग्ध उत्पादक किसानको आन्दोलनमा राष्ट्रिय सहकारी महासंघको ऐक्यवद्धता

काठमाडाैं । देशैभरका दुग्ध कृषकहरूले भोग्दै आएको बढ्दो संकटलाई मध्यनजर गर्दै केन्द्रीय दुग्ध सहकारी संघले विभिन्न क्षेत्रका कृषकसँग मिलेर सोमबारदेखि विरोध अभियान थालेको छ । दूध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै शुरु गरेको सो आन्दोलनमा राष्ट्रिय सहकारी महासंघले ऐक्यवद्धता जाहेर गरेको छ ।

६ महिनादेखि दूध बिक्रीको भुक्तानी नहँदाु किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ । यस्तो अवस्थामा किसानको गुनासो तत्काल सम्बोधन गर्न सरकारसँग महासंघले माग राखेको छ । गत मंसिरमा सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासनलगायतका विगतमा भएका सम्झौताका बाबजुद पनि बक्यौता वितरण हुन नसकेकोमा महासंघले आपत्ति जनाएको छ ।

‘सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव मात्र बढाएको छैन, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको अवस्था छ । दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुर्नस्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न हामी सरकारसंग जोडदार माग गर्दछौ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधिलगायत सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । साथै महासंघले दुग्ध कृषकहरूसँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र कृषकहरूको आर्थिक समृद्धि सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारलाई आव्हान गरेको छ ।