जिम्मेवारी छाडेर असईसहित २३ प्रहरी सम्पर्कविहीन
काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) सहित २३ प्रहरी बिना जानकारी लामो समयदेखि गैरहाजिर रहेको पाइएको छ । विभिन्न कार्यालयमा पोस्टिङ रहेका प्रहरीहरू बिना जानकारी ९० दिनभन्दा बढी समय सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सातदिने स्पष्टीकरण सोधेको छ ।
पोस्टिङ रहेको कार्यालयमा जानकारी गराएर मात्र बिदा बस्नुपर्नेमा आफूखुसी गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षक अजय चन्द, सविना तामाङ, जजराज शाही, कमल राना, प्रहरी हवल्दार डम्बरबहादुर चन्दलगायत छन् ।
प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि सातदिने स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले जनाएको छ ।
चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरणको जवाफ नदिए प्रहरी नियमावली, २०७१ अनुसार गैरहाजिर सम्पूर्ण प्रहरीलाई कारबाही गर्ने चेतावनी प्रधान कार्यालयले दिएको छ । प्रहरी ऐन, २०७१ मा कुनै पनि प्रहरी कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा जागिरबाट हटाउन सकिने प्रावधान छ ।
नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायमा केही समययता तल्लो दर्जाका कर्मचारीले बीचमै जागिर छाड्ने प्रवृत्ति देखापरेको छ । न्यून वेतन, वैदेशिक रोजगारमा जाँदाको आकर्षक तलब, अवकाशको अवधिलगायतलाई यसको मुख्य कारण मानिन्छ । यसरी बीचमै सुरक्षा निकायमा कार्यरत जनशक्तिले सेवा छाड्दा उनीहरूमाथि राज्यले गरेको लगानी खेर गइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने




प्रतिक्रिया