NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जिम्मेवारी छाडेर असईसहित २३ प्रहरी सम्पर्कविहीन

स्पष्टीकरणका लागि सात दिनको समय, नआए जागिरबाट हटाइने

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) सहित २३ प्रहरी बिना जानकारी लामो समयदेखि गैरहाजिर रहेको पाइएको छ । विभिन्न कार्यालयमा पोस्टिङ रहेका प्रहरीहरू बिना जानकारी ९० दिनभन्दा बढी समय सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सातदिने स्पष्टीकरण सोधेको छ ।

पोस्टिङ रहेको कार्यालयमा जानकारी गराएर मात्र बिदा बस्नुपर्नेमा आफूखुसी गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षक अजय चन्द, सविना तामाङ, जजराज शाही, कमल राना, प्रहरी हवल्दार डम्बरबहादुर चन्दलगायत छन् ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि सातदिने स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले जनाएको छ ।

चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरणको जवाफ नदिए प्रहरी नियमावली, २०७१ अनुसार गैरहाजिर सम्पूर्ण प्रहरीलाई कारबाही गर्ने चेतावनी प्रधान कार्यालयले दिएको छ । प्रहरी ऐन, २०७१ मा कुनै पनि प्रहरी कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा जागिरबाट हटाउन सकिने प्रावधान छ ।

नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायमा केही समययता तल्लो दर्जाका कर्मचारीले बीचमै जागिर छाड्ने प्रवृत्ति देखापरेको छ । न्यून वेतन, वैदेशिक रोजगारमा जाँदाको आकर्षक तलब, अवकाशको अवधिलगायतलाई यसको मुख्य कारण मानिन्छ । यसरी बीचमै सुरक्षा निकायमा कार्यरत जनशक्तिले सेवा छाड्दा उनीहरूमाथि राज्यले गरेको लगानी खेर गइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष