सांसदहरुद्वारा सडक दुर्घटना न्यूनीकरण र किसानका समस्याबारे ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन् ।
आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे । पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद एकनाथ ढकालले सडक दुर्घटना बढेको विषयमा संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए । सांसद ध्रुवबहादुर प्रधानले नागरिकलाई सेवा प्रवाहमा भएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन उनले माग गरे।
सांसद अशोककुमार चौधरीले तराईका जिल्लामा वर्णशङ्कर जातको बीउका कारण मकैमा दाना नलागेको विषय उठाए । त्यस्तो बीउ बेच्ने डिलरलाई कारबाही गर्न र कृषकलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उनले माग गरे । जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिए ।
सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताए । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए ।
न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गरे । उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया