NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

‘आइटी माफिया’ पछि ‘मेडिकल माफिया’ अख्तियारको फन्दामा

काठमाडौं । देशका दुई ठूला आइटी माफिया मानिएका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राखेर अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशका ठूला मेडिकल माफिया बिशाल पण्डितविरुद्ध पनि मुद्दा दायर गरेको छ । अस्पतालका सामान बिक्रिमा सेटिङ गरेको आरोपमा आयोगले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

पण्डित हस्पिटेक प्रालिका सञ्चालक हुन् । स्वास्थ्य मन्त्रालय मातहतका अधिकांश ठूला ठेक्का उनको कब्जामा रहँदै आएको छ । मन्त्रीसँगै सेटिङ मिलाएर उनले ठूला ठेक्का हात पार्दै आएका छन् । कोशी प्रदेश अस्पतालमा मेडिकल सामान बिक्रि गर्दा तीन करोड भ्रष्टाचार गरेको भन्दै आयोगले उनीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

कोभिड अस्पताल कोभिड १९ केन्द्र विराटनगरका लागि एचडियु खरिदमा मिलेमतो भएको अख्तियारको दाबी छ । जसमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालिन निर्देशक चन्द्रदेव मेहता, बायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डन्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ र हस्पिटेकका बजार प्रतिनिधि मनोज कुमार आचार्यविरुद्ध मुद्दा दायर भएको हो ।

कुनै पनि बोलपत्रहरु सारभुत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र गर्नुपर्नमा मिलेमतोका आधारमा सो कम्पनीसँग खरिद गरेर अनियमितता भएको हो ।

पण्डित यती शक्तिशाली व्यापारी हुन् कि जोसुकै स्वास्थ्य मन्त्री भएपनि उनलाई आफुअनुसार चलाउने गर्दथे । उनका अन्य ठेक्काको पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।