NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

सीमावासीसँग सम्बन्ध बढाउदै सशस्त्र प्रहरी

काठमाडौं । सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत झापामा छात्रबृत्ति प्रदान तथा शैक्षिक सामाग्री वितरण र सुनसरीमा क्षमता अभिवृद्धि (केशकर्तक) तालिम संचालन भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले झापा जिल्लाको गौरीगंज गाउँपालिका– ६ स्थित खजुरगाछीमा चैत्र १९ गते आयोजित एक कार्यक्रमकाबीच सोही गाउँपालिका ४ बाह्रसुद्धी घर भई हाल गौरिया प्राथमिक विद्यालयमा अध्ययनरत छात्रा रानी ऋषिदेवलाई छात्रबृत्ति प्रदान गरेका छन् । उनलाइ अब नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निशुल्क पढाइने छ । साथै सीमा इलाकामा बसोबास गर्ने नगरिकका करीब एक सयजना सन्ततीहरुलाई एआइजी पौडेलले शैक्षिक सामाग्रीसमेत वितरण गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने आदिवासी जानजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार २ छात्रछात्राहरुलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था र यसको सुरुवात कोशी प्रदेशबाटै गर्ने घोषणा गरेका थिए । सोही कार्यक्रम कार्यान्वायनमा गएको हो ।

यसैगरी सोमबार नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको प्रमुख आतिथ्यमा झापा जिल्लाको गौरीगंज गाउँपालिका ६ स्थित खजुरगाछीमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजश्वत चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

कार्यक्रममा उनले सीमावासी नागरिक नै सीमानाका वास्तविक पहरेदार हुन् भन्दै सीमा क्षेत्रका बासिन्दाहरुसँगको समन्वय र सहकार्यमा मात्र सीमा सुरक्षा प्रभावकारी हुने संगठनले विश्वास लिएको बताए ।


झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अञ्जनीकुमार पोखरेल, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलगायत झापा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं वडाध्यक्षहरुसहित सीमावासी आम नगरिकहरुको उपस्थितिमा राजश्वत चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी उहाँले सोमबारनै छुट्टै कार्यक्रममा सुनसरी जिल्ला हरिनगर गाउँपपालिकाको कार्यालयमा संचालन भएको केशकर्तक तालिमको समेत उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय र नं. ४ गण सुनसरीको आयोजनामा सिमा बासिसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगतनै संचालन भएको तालिममा सीमा इलाकामा बसोबास गर्ने २० जना स्थानियहरु सहभागी रहेका छन् ।
स्वरोजगारमा बृद्धि, आर्थिक उपार्जनमा सहयोग तथा स्वदेशमै केही गरौं भन्ने भावनाको विकास गराउने उद्देश्यले क्षमता अभिवृद्धि गराउन केशकर्तक तालिम संचालन गरिएको हो ।

सीमानामा बसोबास गर्ने स्थानीयवासीहरुसँग सुमधुर सम्बन्ध कायम राख्न ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिमका साथै आगामी दिनहरुमा लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कक्षाहरुसमेत संचालन गरिदै लैजाने संगठनको योजना रहेको छ । सीमा सुरक्षालाई बलियो बनाउन सशस्त्रले सीमालक्षित कार्यक्रमहरु चलाएको हो ।