डिएसपीलाई घुस दिने व्यापारीलाई डेढ वर्ष कैद
काठमाडौं । घुस लिने डिएसपी र दिने व्यापारी दुवै जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिशेष अदालतले इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसी र उनलाई घुस दिने सुन व्यवसायी खिलेन्द्र जिसीलाई दोषी ठहर गरेको हो ।
केसी गत वर्ष मंसिरमा १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनले व्यवसायी जिसीको सुन बरामद गरी फिर्ता दिन घुस लिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले नै छापा हानी केसीलाई रंगेहात पक्राउ गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो । आयोगले गत भदौमा मुद्दा दायर गरेको थियो ।
सुरुमा व्यवसायी जिसीलाई आयोगले सरकारी साक्षी बनाएको थियो । तर, बिशेष अदालतमा गएर डिएसपी बयान फेरेर डिएसपी केसीको पक्षमा बोलेपछि उनलाई पनि गत पुसमा आयोगले प्रतिवादी बनाएको थियो ।
डिएसपी केसीलाई दुई वर्ष र जिसीलाई डेढ वर्ष कैद सजाय भएको छ । डिएसपी केसीलाई भने प्रहरीले यसअघि नै बर्खास्त गरिसकेको छ ।
प्रतिक्रिया