NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

विदेशी नाम परिवर्तन नगरे कामपाका विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले आफूमातहतका विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न पुनः ताकेता गरेको छ । सात दिनभित्र सम्पर्क गरेर मौलिक नामाकरणका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको कामपाले अन्यथा आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना प्रक्रिया नै रोक्ने चेतावनी दिएको छ ।

कामपाको शिक्षा विभागले बुधबार एक सूचना जारी गरी सात दिनभित्र नेपालीपन झल्कने किसिमको नाम राख्ने प्रक्रिया अघि बढाउन मातहतका विद्यालयलाई निर्देशन दिएको हो । विभागले सात दिनभित्र सम्पर्क गरी मौलिक नामाकरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै अन्यथा विद्यार्थी भर्ना प्रक्रियामै रोक लगाउनेसहितका कानूनी कारबाहीको चेतावनी दिएको छ ।

‘… सात दिनमा सम्पर्क गरी मौलिक नामाकरण प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानूनबमोजिमका कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) र काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । नामाकरणसम्बन्धी यही मौजुदा व्यवस्था स्मरण गराउँदै काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने नाम राख्न पटक–पटक आग्रह गर्दै आएको छ । तर महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूले यो व्यवस्था प्रतिकूल हुनेगरी नामाकरण गरेका छन् । ऐनको व्यवस्था स्मरण गराउँदै कामपाले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि त्यस्ता विद्यालय नाम परिवर्तन गर्नैपर्ने दबाबमा परेका छन् ।

कसरी फेर्न सकिन्छ नाम ?

कुनै विद्यालयले आफ्नो नाम परिवर्तन गर्न चाहेमा विद्यालय व्यवस्थापन समितिबाट त्यससम्बन्धी निर्णय गर्नुपर्छ । यससम्बन्धी निर्णयपछि त्यसलाई सूचनामार्फत सार्वजनिक गर्नुपर्ने अर्को नियम छ । महानगरपालिका शिक्षा विभागका अनुसार, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सार्वजनिक सूचना जारी गरेको ३५ दिनभित्र आवेदन दिएको खण्डमा नाम परिवर्तनको अनुमति दिन सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष