NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

नेपालको शिक्षामा ‘आउटडोर’ क्रियाकलापको अवस्था कस्तो छ ?

काठमाडौं । हामीमध्ये कतिले विद्यालयमा विद्यार्थीका लागि नभइ नहुने आउटडोर क्रियाकलापबारे बुझेका छौं ?
नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगको नयाँ श्रृखलामा ‘आउटडोर’ क्रियाकलापका विषयमा छलफल गरिएको छ ।

आउटडोर क्रियाकलाप भन्नाले विद्यालय परिसरबाट बाहिर निस्केर गरिने क्रियाकलापलाई बुझिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने, रनिङ, साइकलिङ, ट्रेकिङ, र्याफटिङ इत्यादिलाई आउटडोर क्रियाकलापको रुपमा लिइन्छ । तर यति मात्रै आउटडोर क्रियाकलाप होइनन् । व्यक्तिको शारीरिक वा मानसिक क्षमतालाई चुनौती दिने सम्रग क्रियाकलाप आउटडोर हुन् ।

आउटडोर क्रियाकलापलाई अन्य देशमा विद्यालय तहबाट नै बढी जोड दिइन्छ तर नेपालका विद्यालयहरुमा यस्ता क्रियाकलापमा खासै मान्यता नदिएको योङ इनोभेसनका कार्यकारी अध्यक्ष विभूषण बिस्ट बताउँछन् । उनका अनुसार केही हदसम्म विद्यालयहरुले बास्केटबल तथा भलिबल खेलाउने गर्छन् । यद्यपि, त्यसभित्र आउटडोर क्रियाकलापमा पर्ने कुराहरु विरलै समेटिएका हुन्छन् । ‘खाली बास्केटबल तथा भलिबल अर्थात टिम स्पोर्टलाई अलिअलि मान्यता दिइरहेको हुन्छ । तर आउटडोरमा कुनै कुनै विद्यालयले वर्षको एक पटक हाइकिङ लग्ने र भ्रमणमा लाने बाहेक आउटडोरमा अन्य अवधारणा छैन,’ उनले भने ।

विद्यालयमा आउटडोर अवधारणको बारेमा शिक्षक र विद्यार्थी दुवैलाई जानकारी नहुँदा नेपालको शिक्षा प्रणालीमा आउटडोरको अवधारण शून्य रहेको उनको तर्क छ । अध्ययन अनुसन्धानले आउटडोर क्रियाकलापले व्यक्तिको तनाव व्यवस्थापन गर्न धेरै मात्रामा सहयोग पुग्नेसमेत देखिएको छ । यसले व्यक्तिको मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्नुका साथै शारीरीक र मानसिक रुपले नै व्यक्तिमा आत्मविश्वाससमेत बढ्छ ।

यो पटकको एजुकेसन डायलगमा कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले नेपालको शिक्षामा आउटडोर क्रियाकलापको अवस्था, यसको व्यवस्थापन, महत्व तथा आउटडोर क्रियाकलापका लागि सरकारले चाल्नुपर्ने कदम लगायत विषयमा केन्द्रित रहेर योङ इनोभेसनका कार्यकारी अध्यक्ष बिस्टसँग छलफल गरेका छन् ।

छलफलको पुरा अंश तलको लिंकमा गएर हेर्नसक्नुहुनेछ ।