छापामा आज : गण्डकीमा फर्कियो कोशी

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विभिन्न विषयलाई समाचारको रूप दिएर छापेका छन् । सबैजसो अखबारको मुख्य प्राथमिकतामा भने गण्डकीमा संविधानविपरीत मुख्यमन्त्री नियुक्तिको विषय परेको छ ।
‘गण्डकीमा फर्कियो कोशी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले संवैधानिक र राजनीतिक जटिलता निम्त्याउने गरी ९ महिनाअघि कोशी प्रदेश सरकार निर्माणमा गरेको ‘जबर्जस्ती’ नयाँ गठबन्धनले गण्डकी प्रदेशमा दोहो-याएको कान्तिपुर समाचारको लिड लाइनमा उल्लेख छ ।
सर्वोच्च अदालतको नजिरविपरीत गण्डकीमा सभामुखसहित माओवादीका ८, एमालेका २२ र एक स्वतन्त्र सांसदको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका छन् ।
संविधानविद् विपिन अधिकारीका अनुसार, अदालतले नजिर स्थापित गरिसकेपछि गण्डकीमा त्यसको उल्लंघन गर्नु अदालतको अवहेलना हो । उनले मुख्यमन्त्री र प्रदेश प्रमुख नै अदालतको अवहेलनामा कारबाहीको भागिदार हुनुपर्ने बताए ।
एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याल अन्तः शुल्क स्टिकर प्रकरणमा तानिएको अर्को खबर पनि कान्तिपुरमा छ । समाचारअनुसार आन्तरिक राजस्व विभागका तत्कालीन दुई महानिर्देशक रीतेश शाक्य र दीर्घराज मैनाली, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पोडेलसहित मुख्यसचिव अर्याल स्टिकर प्रकरणको अनुसन्धानमा तानिएका छन् । उनीहरूमाथि ४ गुणा बढी लागतमा ठेक्का सम्झौता कायम गरेको आरोप छ ।
भ्रष्टाचार काण्डमा मुछिँदै गएपछि अर्यालमाथि कारबाही गर्न दबाब परेको छ । कारबाही नगरे पनि उनलाई बिदामा बस्न भनिएको छ । तर आफूमाथि यतिका धेरै अभियोग लाग्दा पनि उनी अप्ठ्यारो नमानी मुख्यसचिवका रूपमा काम गरिरहेका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित दाउन्ने सडक खण्डको दूरावस्था झल्कने तस्बिरलाई पनि कान्तिपुरले मुख पृष्ठमा छापेको छ । यो सडक खण्डको स्तरोन्नति कार्यले गति नलिँदा धुलाम्मे बनेको छ । धुलोका कारण सवारी चलाउँदा बाटो देख्नै समस्या पर्ने गरेको छ ।
कान्तिपुरले जस्तै नयाँ पत्रिका दैनिकले पनि गण्डकीमा संविधानमाथि बलमिच्याइँ भएको निचोड निकालेको छ । नौ महिनाअघि कोशी सरकार गठन संविधानविपरीत सभामुखको दुरूपयोग गरिएको भन्दै सर्वोच्च अदालत गुहारेको एमालेले गण्डकीमा मुख्यमन्त्री हात पार्न त्यस्तै बलमिच्याइँ गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ । यसले सभामुखसमेतको भूमिकामा सर्वोच्चकै नजिरलाई चुनौती दिएको समाचारको ठहर छ ।
यो प्रकरणलाई लिएर पक्ष–विपक्षमा मत प्रकट भएका छन् । एमाले संसदीय दल, गण्डकी प्रदेशका सचेतक गोविन्दबहादुर नेपालीले संविधानअनुसार मुख्यमन्त्रीमा दाबी मात्र पेश गरिएको र यसले व्यक्तिको समर्थन नभएर दलको समर्थन खोजेको तर्क गरेका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा भने मुख्यमन्त्री नियुक्ति अघि प्रदेश प्रमुखलाई कानून नबाझिने गरी गर्न आग्रह गरे पनि बेवास्ता गरेको बताएका छन् । प्रदेश प्रमुखबाटै संविधानविपरीत कार्य भएकाले अदालत जानुको विकल्प नभएको उनको भनाइ छ ।
यसबाहेक जोतभोगअनुसार जग्गा दर्ताको माग गर्दै सिराहामा मालपोत घेरिएको, ठेकेदारलाई आयोजना दिलाउँदा घुसबापत जग्गा दिइएको, ७३ जिल्लामा पाठ्यपुस्तक पुगेको समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकतापूर्वक मुख पृष्ठमा छापेको छ ।
नागरिक दैनिकले अन्य पत्रिकाले भन्दा फरक विषय वातावरणबारे मुख्य समाचार बनाएको छ । समाचारअनुसार, काठमाडौं विश्वकै प्रदूषित सहरमा परेको छ ।
स्विजरल्याण्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले विश्वका प्रमुख १०० सहरको प्रदूषणको स्तर मापन गरेकोमा काठमाडौं सबैभन्दा प्रदूषित पाइएको हो ।
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस–एमालेबीच सत्तासमीकरण बन्न सक्ने भनेर दिएको अभिव्यक्तिलाई पनि नागरिक दैनिकले समाचार बनाएको छ । देशको राजनीतिक स्थायित्वका लागि यो समीकरण अत्यावश्यक भएको बताए पनि उनले त्यसको ठोस आधार भने प्रस्तुत गर्न सकेका छैनन् ।
गण्डकी प्रदेशका प्रदेश सांसदको चरित्रचित्रण पनि आजको नागरिकमा छ । ‘पिपलपाते’ मनाङ शीर्षक सामग्रीमा मनाङेलाई सत्ताका लागि जुन गठबन्धनतिर पनि ढल्किने सांसदका रूपमा व्याख्या गरिएको छ । हुन पनि मनाङे मन्त्रीका लागि जुनसुकै दलको गठबन्धनमा सामेल हुने गरेका छन् । यही बाटो अपनाएर उनी चार पटक मन्त्री बनिसकेका छन् ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया