लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् ।
बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका चार, नेकपा एसका एक र स्वतन्त्र एक जना सदस्यसहित ४८ मत प्राप्त गरेकाले प्रदेशसभाका सभामुख तुलाराम घर्तीले घोषणा गरेका थिए ।
८६ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २६ र जनमत पार्टीका दुई जना गरी २८ मत परेको सभामुख घर्तीले घोषणा गरेका थिए । यसअघि बैठकमा विश्वासको प्रस्ताव राख्दै मुख्यमन्त्री महराले सबैको अपनत्व हुनेगरी काम गर्ने भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकारले वार्षिक तालिका (क्यालेण्डर) बनाएर विकासका योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकलाई सम्बोधन गदै प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वका कारण सङ्घीयता कार्यान्वयन हुन नसकेको बताए । उनले सङ्घीयता कार्यान्वयन गरेर प्रदेश संरचनालाई बलियो बनाउने कार्यमा आफ्नो दलको समर्थन रहेने सङ्केत स्पष्ट पारे ।
मुख्यमन्त्री महरा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया