भावी प्रधानसेनापतिको नागरिकतामाथि गृह मन्त्रालयको छानबिन

काठमाडौं । नेपाल सेनाका रथी अशोकराज सिग्देलले जन्ममिति सच्याएर दोहोरो नागरिकता लिएको विषयमा गृह मन्त्रालयले छानबिन थालेको छ । प्रमाणसहित एक व्यक्तिले दिएको उजुरीका आधारमा छानबिन सुरु भएको हो ।
सिग्देल नेपाल सेनाका भावी प्रधानसेनापतिका रुपमा हेरिएका अधिकृत हुन् । जन्ममिति विवादले उनी यतीबेला समस्यामा परेका छन् ।
उनको वास्तविक जन्ममिति २०२०–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको प्रमाणसहित उजुरी परेको हो । उजुरी उपर गृह मन्त्रालयले छानबिन थालिसकेको स्रोत बताउँछ । यसमा कैफियत देखिएमा सिग्देलको जागिर धरापमा पर्नेछ । यसअघि रथी बढुवामा सिफारिस भएपछि ताराध्वज पाण्डेले यस्तै विवादमा राजीनामा दिनुपरेको थियो ।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोट बसाई सरेर नागरिकताको अर्काे प्रतिलिपि लिएका हुन् । उनको रुपन्देहीको नागरिकता र जाजरकोटबाट लिएका दुवै नागरिकता छानबिन हुन लागेको हो । उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको थिए ।
सिग्देलले सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वबिद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रष्ट देखिएपछि उनी समस्यामा परेका छन् ।
नेपाली सेनामा व्यक्तिको उमेर समस्या देखिएमा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरुमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ । त्यसअनुसार सिग्देलले यसअघि नै अवकाश पाइसक्नुपर्ने थियो । तर, यसअघि छानबिन रोकाएर उनी बढुवामा पर्न सफल भएका थिए । अहिले फेरि ललितपुरको सुनाकोठीका सन्दीप वलीले गम्भीर विषय भएकाले छानबिनको माग गरी उजुरी दिएका हुन् ।
सेनाको प्रमुख जस्तो व्यक्तिमाथि नै कीर्तेको आरोप लाग्दा संगठनलाई नै क्षती हुन सक्ने भन्दै यो विषयमा छानबिन गरेर किनारा लगाउन माग उठेको छ । कैफियत नदेखिएमा सिग्देल आगामी भदौ २४ मा प्रधान सेनापति हुनेछन् । नत्र सेनामा नयाँ व्यक्ति प्रधानसेनापति हुने अवस्था छ । त्यसकारण यो छानविनले सेनाको भावी नेतृत्वमै हलचल ल्याउने देखिएको छ ।
ताजा अपडेट
-
नयाँ शक्तिलाई मूलधारमा लैजान्छौँ : डा भट्टराई
-
किन दिगो छैनन् हाम्रा कृषि कार्यक्रम ?
-
पानी जहाज सञ्चालन गर्न कानुन ल्याउने तयारी
-
स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुनेमा सांसदहरूको एकमत
-
आगलागीले क्षतिग्रस्त खानेपानी मन्त्रालयको अनुगमनमा पुग्यो पूर्वाधार विकास समिति
प्रतिक्रिया