NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान दुईबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री प्रचण्ड र खनालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ ।

पछिल्लो समय एकीकृत समाजवादी सत्तागठबन्धनको कार्यशैलीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पूर्ववाचाविपरीत एकीकृत समाजवादीलाई उपेक्षा गरेर अघि बढेको उक्त पार्टीको बुझाइ छ । अवस्था यस्तै रहे सत्तागठबन्धनबाट अलग हुने चेतावनी दिएको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको समर्थनप्राप्त नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन नै गरेको छ । समाजवादीको यस्तो कदमपछि सत्ता गठबन्धन दल झस्किएका छन् ।  सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा केन्द्रको गठबन्धनविपरीत समाजवादी उभिएपछि आएको हलचलबीच एकीकृत समाजवादीका नेता खनाललाई प्रचण्डले भेटेका हुन् ।

स्रोतका अनुसार, मंगलबार बिहानको कुराकानीमा खनालले सुदूरपश्चिमको मुख्यमन्त्री नदिए केन्द्रको सत्तागठबन्धनबाट आफ्नो पार्टी अलग हुने चेतावनी  दिएका छन् । खनालको यस्तो चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको विषय सल्ट्याउने आश्वासन दिएका छन् ।

‘खनालले भेटमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पार्टीले नपाए सत्तागठबन्धनमा संकट आउने स्पष्टसँग प्रधानमन्त्रीलाई राख्नुभयो,’ स्रोतले भन्यो, ‘खनालको चेतावनीपछि प्रधानमन्त्रीले मंगलबार साँझसम्म यो मामला सल्टाउने आश्वासन दिनुभएको छ ।’