विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दो
गण्डकी । राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् ।
प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ ।
“एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ”, प्रालिका अध्यक्ष उमेश केसीले भने, “सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।” चौध सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु रु चार सय ५० तोकिएको छ ।
प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौँमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन, पाटपुर्जाआदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ ।
“सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ”, अध्यक्ष केसीले भने ।यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए ।
पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । “निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ”, प्रमुख रिजालले भने, “पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।”
उनले डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए। “प्रदुषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ”, प्रमुख रिजालले भने, “सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।”
प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए । “गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको स¬ङ्ख्या बढ्दो छ”, उनले भने, “कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।”
पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनशन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए। विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेशन स्थापना गरेको उनको भनाइ छ ।
बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेशन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया