NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक

पाटन । ललितपुरको बुङ्मतीमा आयोजित संयुक्त विपद् प्रतिकार्य अभ्यासमा विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

गोरखा बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको दिनको सम्झनामा ललितपुर महानगरपालिकाको आयोजना तथा राजदल गण लगनखेल, सशस्त्र प्रहरी बल नेपाल २१ नं हेटक्वार्टर दक्षिणकाली ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विपद् र महामारीबाट बच्न र बचाउन पूर्वतयारी, सचेतता र सहकार्यमा विपद् प्रतिकार्यको अभ्यास अति जरुरी रहेकोमा वक्ता तथा अभ्यासकर्ताले बताए।

संयुक्त विपद् प्रतिकार्य अभ्यासपश्चात मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विपद् खबर गरेर आउँदैन भन्दै सुरक्षित हुन प्रतिकार्य अभ्यास गरेको उल्लेख गरे । उनले ललितपुर महानगर विपद्मा जस्तोसुकै काम गर्न सक्षम रहेको बताए ।

“आजको यो अभ्यासमा सबैले राम्रोसँग प्रदर्शनी गरे । विसं २०७२ को भूकम्पमा स्थानीयको सहयोग, समन्वय र अभ्यासले उद्धार सफल भएको थियो । तर विपद् नआओस्, आइहाल्यो भने पनि विपद्को क्षतिबाट बच्न स्थानीय युवालाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । विपद्बाट बच्न एकता आवश्यक छ”, उपप्रमुख बज्राचार्यले भने । उनले दुर्घटना हुँदा परम्परागतभन्दा पनि आधुनिक प्रविधि र व्यावहारिक सीपको उपयोग गरेर लाग्नुपर्नेमा जोड दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले अकास्मात् आउने भूकम्प, बाढीपहिरो, हावाहुरीजस्ता महामारीबाट हुने हानी, जनधनको क्षति, समस्या र घटनाबाट जोगिन सचेत रहनुपर्ने बताए । उनले पूर्वतयारीले नै विपद्मा आफू र अरुलाई सुरक्षित राख्न सकिने बताउँदै यसका लागि स्थानीय नागरिक समाज, सङ्घसंस्था र सरकारी कार्यालयले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

महानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले धनजन, मानवीय क्षति नहोस् भनेर सचेतना जगाउनका लागि संयुक्त अभ्यासमार्फत नागरिक सचेतनालाई महानगरले जोड दिँदै आएको बताए । सानो गल्तीले गर्दा धेरै धनजन र मानवीय क्षति हुने हुँदा क्षति र जोखिमबाट बचाउन विपद् प्रतिकार्य अभ्यास र अभिमुखीकरण कार्यक्रमलाई प्राथमिकतामा राखिँदै आएको जानकारी गराए ।

वडा नं २२ का अध्यक्ष सागर तुलाधरले सो भूकम्पले बुङ्मतीका सात सयवटा घर पूर्ण क्षति भएको स्मरण गर्नुहुँदै सामान्य दुर्घटनाले पनि हुनसक्ने ठूलो क्षति रोक्न सहकार्य, एकता र सामूहिक भावनाले क्रियाशील हुनुपर्ने बताए ।

संयुक्त विपद् प्रतिकार्य अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ललितपुर महानगर प्रहरी, नेपाल स्काउट र स्वास्थ्यकर्मीले प्रतिकार्य अभ्यास, खोज, उद्धार तथा प्राथमिक उपचारको अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।