NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जो काफल बेचेर मनग्य आम्दानी गर्छन्

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छिन् । एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्छिन् ।

उनी भन्छिन्, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”

सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छिन् । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उनी बताउँछन्। प्रति माना रु एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताइन् ।

गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट रु ४० हजारबढी आम्दानी गरेको बताइन् । बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका-१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ ।

ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ। काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना रु ५० देखि रु एक सय सम्ममा बिक्री हुने गरेको छ ।

काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउँछिन् । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उनी बताउँछिन् ।

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दै आएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गर्छिन् । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताइन्। उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको उनले बताइन् ।

ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष