NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न

काठमाडौँ । मंगलबार नेपालवाचबाट देउवापुत्र जयवीरले किने चार बर्षमा करिब १ अर्ब रुपैयाँको ७३ रोपनी जग्गा शीर्षकको समाचारमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले मौखिक खण्डन गरेको छ ।

सचिवालयबाट समाचारमा प्रस्तुत एक तथ्यांकका प्रश्न उठाइएको छ । त्यो हो, काठमाडौंको चपलीमा खरिद गरिएको भनिएको २ रोपनी जग्गा उनले आमा आरजु राणाबाट पाएका हुन् । जयविरले किनेका होइनन् ।

शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले उक्त विषयलाई खण्डन गर्न आरजु राणाले आर्थिक बर्ष २०७९र८० मा संसदमा पेश गरेको सम्पत्ति विवरणको एउटा पत्र समेत नेपालवाचलाई उपलब्ध गराएका छन् ।

त्यो पत्रमा बुढानिलकण्ठ न.पा. वडा नं २ मा सांसद आरजु राणाको नाममा ५ रोपनी १५ आनाको क्षेत्रफलमा फैलिएको जग्गा छ । त्यो जग्गामा चाइनिज इट्टा प्रयोग भएको दुई घर छन् । त्यसमध्ये एउटा घर तीनतले छ भने अर्को घर दुई तले छ । त्यो जग्गा र घरको स्रोत दाइजोको रुपमा पाएको उल्लेख छ ।

त्यसमध्ये एक घर र २ रोपनी जग्गा छोरा जयवीर सिंह देउवाको नाममा वकसपत्र गरिएको छ ।

आरणु राणाकाअनुसार उनले आफ्नो नाममा रहेको घर र जग्गा सहितको त्यो सम्पत्ति २०७६ सालमा छोरा जयविरका नाममा हस्तान्तरण गरेकी हुन् ।

हेर्नुहोस् विवरण ।

नेपालवाच
नेपालवाचले के लेखेको थियो ?
नेपालवाचले लेखेको समाचारमा जयवीरको नाममा वि सं २०७४ देखि २०७८ को अवधीमा काठमाडौंको चपलीदेखि, बर्दियाको ढोढरी र कास्कीको ढिकुरपोखरीसम्म ७३ रोपनी जग्गा खरिद भएका छन् । चलनचल्तिको बजारमूल्यअनुसार त्यो जग्गाको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुन आउँछ भनेर लेखेको थियो ।

२०७४ चैत १४ गते काठमाडौंको चपलीमा झण्डै दुई रोपनी जग्गा खरिद गरिएको छ । जयवीरको एकलौटी हक लाग्नेगरी व्यवसायिक तथा बसोबासको उक्त क्षेत्रमा कित्ता नं २२, ३८६, ३९९ र ४७९ रहेको जग्गा जयवीरको नाममा खरिद गरिएको हो । ती जग्गाको कुल क्षेत्रफल ९६६ वर्गमिटर रहेको छ । अहिलेको प्रचलित बजार मूल्यअनुसार त्यो जग्गालाई न्युनतम १२ करोड रुपैयाँ पर्छ ।

थप के छ ?
आरजु राणाले संसद सचिवालयलाई पेश गरेको सम्पत्ति विवरणमा दुई रोपनी जग्गा र एउटा घर २०७६ सालमा छोराका नाममा हस्तान्तरण भएको उल्लेख गरेकी छिन् ।
तर नेपालवाचले जयवीरले खरिद गरेको भनेर लेखेको जग्गा २०७४ चैत्र १४ गते प्राप्त गरेका थिए । यो जग्गाको कारोबार अंक २७२२०७६७७ एमएल ०००१३६९ रहेको छ । जग्गाको नक्सा सीट १०२०८६८०५ रहेको छ ।

अर्को प्रश्न
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० ले सम्पत्ति विवरण सम्वन्धी व्यवस्था गरेको छ ।

यही कानूनअनुसार हरेक सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्छ । त्यस्ता प्रत्येक व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउनु पर्दछ ।

सोहि व्यवस्थाअनुसार सांसद आरजु राणाले संसद सचिवालयमा आफ्नो सम्पत्तिको विवरण पेश गर्नुपरेको हो । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण पेश गर्नु बाध्यकारी हो ।

कार्यालय सहयोगीदेखि प्रधानमन्त्री, राष्टपतिसम्मले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार नै सम्पत्ति विवरण पेश गर्ने हो ।

२०७४ साउन २० गते तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गरेका थिए ।

त्यो विवरणमा छोरा जयविर र श्रीमती आरजु राणाको नाममा कुनै सम्पत्ति पेश गरेका थिएनन् ।

तर गज्जब कुरा के छ भने, देउवाले आफ्ना पिता प्रसादसिंह देउवाको नाममा रहेको डडेलधुराको घर जग्गाको विवरण पेश गरेका थिए । यस्तै दाजुभाईको नाममा कञ्चनपुरको कृष्णपुरमा रहेको १० विगाह जग्गाको विवरण पनि उल्लेख गरेका थिए ।

हेर्नुहाेस् ।

यो सम्पत्ति विवरणमा देउवा परिवारको नाममा नियमित देखिने बलियो आम्दानीको स्रोत छैन । शेरबहादुर देउवा र आरजु राणा दुवै जना राजनीतिमा पूर्ण रूपमा सक्रिया छन् ।

२०७४ सालमा देउवासँग डडेलधुरामा रहेको सगोलको घरजग्गा बाहेक एभरेष्ट बैंकमा १६ लाख ५० हजार ७ सय ३९ रुपैयाँ ७५ पैसामात्रै थियो । देउवासँग १० थान असर्फी, दुई दुई तोलाका दुई थान सुनको सिक्री र ५ तोलाको ब्रेसलेट थियो ।

त्यसबाहेक देउवासँग कुनै सम्पत्ति थिएन । तर उनको छोराले भने विना उद्यम त्यसपछिको ३ बर्षमा करिब १ अर्ब रुपैयाँको जग्गामात्रै खरिद गरिसकेका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले कास्कीको पोखरा र बर्दियामा खरिद गरेको जग्गाको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यो पनि पढ्नुहोस् 

देउवापुत्र जयवीरले किने चार वर्षमा करिब १ अर्ब रुपैयाँको ७३ रोपनी जग्गा – NepalWatch

सत्ताको चास्नीमा आरजुको राइँदाइँ : जहाँ द्रव्य, त्यहाँ टुप्लुक्क – NepalWatch