NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जग्गासम्बन्धी समाचारमा आरजुको सचिवालयको खण्डन

काठमाडौं । सांसद तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको सचिवालयले जयवीर सिंह देउवाको नाममा खरिद भएको जग्गाबारे नेपालवाचमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

नेपालवाचले मंगलबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेत्री एवं सांसद आरजु राणा देउवाका छोरा जयवीरको नाममा काठमाडौंको चपलीदेखि बर्दियाको ढोढरी र कास्कीको ढिकुरपोखरीमा पाँच वर्षमा ७३ रोपनी जग्गा खरिद भएको समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशन भएको भोलिपल्ट बुधबार सचिवालयले एक खण्डनपत्र पठाउँदै समाचारमा सत्यता नरहेको जिकिर गरेको हो ।

खण्डनपत्रमा जयवीरको नाममा रहेको ७३ रोपनी जग्गामध्ये पोखरास्थित ढिकुरपोखरीको २२ रोपनी जग्गा खरिद गरिएको भए पनि बाँकी सबै जग्गा आरजु राणा देउवाको नामबाट नामसारी गरिएको जनाइएको छ ।

ढिकुरपोखरीको २२ रोपनी जग्गा पनि भीरपाखाको भएको र त्यसको स्रोत खरिद गर्ने समयमै मालपोत कार्यालयमा पेश गरिएको सचिवालयको भनाइ छ ।

सचिवालयको खण्डन जस्ताको तस्तै

नेपाल वाच डटकमले बैशाख २५ गते पोष्ट गरेको ‘देउवापुत्र जयवीरले किने चार वर्षमा करिब १ अर्ब रुपैयाको ७३ रोपनी जग्गा’ शीर्षकको समाचारको कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौ ।

समाचारमा भने अनुसार काठमाडौंको चपलीमा २ रोपनी जग्गा जयवीरसिह देउवाको नाममा खरिद गरिएको भनिएको छ । यो नयाँ जग्गा खरिद गरिएको नभई अहिले निवास रहेकै बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १ मा रहेको घरकै २ रोपनी जग्गा जयवीरको नाममा बकसपत्र मात्रै गरिएको हो । (बकस गरिएको दस्तावेज हेर्नुहोस्)

बर्दियामा २५ हजार ८४ बर्गफित जग्गा खरिद गरिएको भनिएको छ, यो पनि तथ्यहिन हो । उक्त जग्गा खरिद गरिएको नभई आमा माननीय डा.आरजु राणा देउवाको नाममा रहेको पुर्खेउली माइतबाट आएको जग्गा छोराको नाममा नामसारी मात्रै गरिएको हो ।

त्यस्तै पोखराको ढिकुरपोखरीमा २२ रोपनी जग्गा खरिद गरिएको भनिएको छ, त्यो भीर पाखा जग्गा प्रति रोपनी २ लाखका दरमा खरिद गरिएको हो । यसको स्रोत समेत जग्गा पासगर्दा सम्वन्धित मालपोत कार्यालयमा पेश गरिएको छ ।

नेपालवाच डटकमको समाचारको मुल तथ्यनै गलत देखिएकाले उक्त भ्रामक र तथ्यहिन समाचार तथ्यसहित सच्चाउनु हुन अनुरोध गरिन्छ ।
धन्यवाद।

कमल रावल
स्वकिय सचिव
माननीय डा. आरजु राणा देउवा

ताजा अपडेट

नेपालवाच विशेष