NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आमा चिनाउने नबिलको बुलन्द भिडियो, जसले बनाउँछ तपाईंलाई भावुक

परिवारका लागि मरिमेट्ने आमाको लागि हामी पनि केही सोच्ने कि ?

काठमाडौं । आमा । यो शब्द जति मीठो छ, उत्तिकै प्यारो र शक्तिशाली पनि छ । त्यसको वर्णन शब्दमा सायदै गर्न सकिन्छ । आमाको जस्तो निःस्वार्थ माया र त्याग कसैको हुँदैन ।

परिवारमा आमा छिन् त सबै छन्, छैन त केही छैन । आमा भएको घर साँच्चिकै सुन्दर र हरियाली हुन्छ । त्यहाँ कुनै कुराको अभाव र कमी हुँदैन । परिवारलाई बाँधेर राख्ने, सबै कुरा मिलाएर राख्ने भनेको आमाले मात्रै हुन् । त्यसैले त आमाको तुलना कसैसँग हुँदैन ।

एउटी आमाले के मात्रै गर्न सक्छिन् ? जवफ प्रष्ट छ, सबथोक । घरको कुनै सदस्य उठ्नु अघि नै सबैरै बिउँझिन्छिन् आमा । घरको सम्पूर्ण सरसफाइ, परिवारको लागि ब्रेक फास्ट, बच्चाहरूलाई स्कुल पु–याउन तयार पार्नेलगायत यावत् काम आमाकै हातबाट फत्ते भइरहेको हुन्छ ।

अरूका लागि मरिमेट्ने आमासँग आफ्नाबारेमा सोच्ने फुर्सद भने कहिल्यै हुँदैन । आमा खासमा आफू जलेर अरूलाई उज्यालो प्रकाश दिने मैनबत्ती हुन् । आफू चोट सहेर बस्ती जोगाउने तटबन्ध हुन् । र पनि कहिल्यै गुनासो गर्दिनन् उनी । कसले के खान्छ, के लगाउँछ, के मन पराउँछ, कसको के आवश्यकता छ ? अरूको रुचि, माग र आवश्यकता पूरा गर्दागर्दै आमाको समय गुज्रिसकेको हुन्छ ।

यतिमा मात्रै उनको काम कहाँ सकिन्छ र । परिवारका सदस्यले खाएर माझ्न छोडेका भाँडाकुँडा, धुनलाई राखिएका कपडा, त्यतिकै केटाकेटीले खेलेर अस्तव्यस्त बनाएका खेलौनाहरू, ती सबैलाई मिलाएर चिटिक्क बनाउन पुगिहाल्छिन् आमा । यस्तो लाग्छ, चौबीसै घण्टा जागेर परिवारको सेवा पूर्णकालीन सेवक हुन् आमा ।

आमाको व्यस्तता र जिम्मेवारी यति हुन्छ लाग्छ श्वास फेर्न पनि उनलाई फुर्सद छैन । व्यस्तताका बावजुद  उनले आफ्नो वास्तविक पहिचानसमेत बिर्सिन्छिन् । म को हो र के हो भन्ने बिर्सेर परिवारको हरेक सदस्यको पहिचानमा खुुसी हुन्छिन् आमा ।

यसै सन्दर्भमा नबिल बैंकले हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्दै आमाको मुख हेर्ने दिनको अवसरमा शभकामना भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा आमाले आफ्नो पहिचान बालबच्चा र श्रीमानको खुसीमा देखिरेहेकी छन् । जसले गर्दा उनले आफ्नो सपना, करियरलाई पछि पारेको भिडियोमा देखाउन खोजिएको छ । एउटी आमाको भूमिका निभाउन महिलाले आफ्नो जीवनका धेरै कुरा बिर्सिएर परिवारको खुसीमा सामेल भइरहेको देखिन्छ ।

भिडियोको सुरुवातमा एक आमाले छोरीको स्कुल र श्रीमानको अफिस जाने समयको ख्याल गर्दै ब्रेक फास्ट तयारी गरिरहेकी हुन्छिन् । त्यही बेला कोही व्यक्तिले डोरबेल लगाएको आवाज गुञ्जिन्छ ।

ढोका खोलेर हेर्दा बाहिर ‘सुधा म्याम’ भनेर उनको लागि पार्सल ल्याएको देख्न सकिन्छ । उनको व्यस्तता यति धेरै हुन्छ कि उनले आफ्नो नाममा आएको पार्सलसमेत खोल्न फुर्सद पाउँदिनन् । यो भिडियोमा एउटी महिलालाई आफ्ना लागि थोरै समय निकाल्नसमेत गाह्रो परेको यथार्थ देखाइएको छ ।

घरपरिवारको जिम्मेवारीमा बाँधिएकी ती आमाले आफ्नो पहिचान भुलेकी छिन् कि कुनै समय उनी स्कुलकी शिक्षिका पनि थिइन् भनेर । उनले परिवारका लागि आफ्नो खुसी बिर्सेर परिवारको खुसीमा नै सर्वस्व देखेकी छिन् ।

सोही भिडियोमा छोरीले आफ्नो आमाको खुसीलाई मध्यनजर गर्दै आमाको मुख हेर्ने दिनमा उपहारस्वरूप उनको करियरलाई पुनः सुरु गर्न प्रोत्साहन गरेको देखिन्छ ।

बच्चाका लागि त्यागेको पेशा फेरि उनकै बच्चाले आमालाई उपहारस्वरूप फिर्ता गरेको भिडियोमा देखाएको छ । यसले सबथोक त्याग्ने आमाप्रति सन्तानको पनि दायित्व र जिम्मेवारी रहेको सम्झाउन खोजेको छ । श्रीमानले आफ्नी श्रीमतीप्रति निभाउनुपर्ने कर्तव्यलाई पनि यो भिडियोले चोटिलोसँग देखाएको छ ।

भिडियोमा प्रस्तुत गरेको जस्तै आफ्नो पहिचान बिर्सिएर त्याग गर्ने आमाप्रति परिवारको केही जिम्मेवारी हुँदैन ? यसबारे आज हरेक परिवारका सदस्यले सोच्नुपर्ने हुन्छ ।

यो भिडियोमा देखाउन खोजेजस्तै हरेक आमालाई परिवारको जिम्मेवारी साथसाथै आफ्नो पहिचान बनाएर अघि बढ्ने अधिकार छ । बीचमा चुनौती, अवरोधहरू थुप्रै छन् । ती अवरोध र बाधाहरुलाई सामना गरेर अघि बढ्न महिलालाई परिवारको साथ पनि उत्तिकै आवश्यक छ ।

हेर्नुहोस् नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसर पारेर तयार पारेको भिडियो :

https://www.facebook.com/nabilbanklimited/videos/1066745184423934/

ताजा अपडेट

नेपालवाच विशेष