NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

प्रभावकारी लेखा सुपरीवेक्षण समिति : सहकारी जोगाउने सञ्जीवनी

काठमाडाैं । सहकारी प्रजातान्त्रिक मूल्य, मान्यता, सिद्धान्त र स्वनियमनमा चल्ने संस्था हो । सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तमा पनि स्वायत्तता, स्वतन्त्रता, समुदायप्रतिको सरोकार, ऐच्छिक तथा खुला सदस्यतालगायत विषय उल्लेख छन् । यसले के स्पष्ट गर्छ भने सहकारीमा स्वच्छता, निष्पक्षता, पारर्दशिता र जफावदेहिता हुनुपर्छ । सहकारीमा समस्या आउन नदिन संस्था विश्वसनीय र पारदर्शी हुनु त पर्छ नै बचतकर्ताप्रति जिम्वेवार हुनुपर्छ ।

नेपालका सहकारी संस्थाहरूलाई नियाल्ने हो भने पछिल्लो समय यसका समस्या विकराल बन्दै गइरहेका छन् । सयौं सहकारी संकटग्रस्त हुँदा बचतकर्ताले खाइनखाइ जम्मा गरेको रकम जोखिममा परेको छ । सहकारीमा देखापरेको यो विकृत्तिले यसप्रतिको आम दृष्टिकोण नै नकारात्मक बन्न पुगेको छ ।

सहकारीकर्मीहरू प्रचलित मूल्य, मान्यता र सिद्धान्तअनुसार चलेका सहकारीमा समस्या नआएको तर यसलाई पन्छाएर मनमौजी गर्नेमा भने समस्या देखिएको औंल्याउँछन् । लेखा सुपरीवेक्षण समिति कमजोर हुँदा पनि सहकारीमा समस्या सिर्जना भएको उनीहरूको तर्क छ । सहकारी संस्थामा आन्तरिक सुशासन कायम गरी सदस्यहरूलाई बचत सुरक्षाको प्रत्याभूति गराउने दायित्व लेखा सुपरीवेक्षण समितिको भए पनि अधिकाशं संस्थाहरूमा यस्ता समिति नाम मात्रकै हुने गरेको छ । लेखा समितिका पदाधिकारीले आफ्नो भूमिका थाहा नपाउँदा धेरैजसो संस्थामा  अध्यक्ष र व्यवस्थापक हाबी हुने गरेका छन् । यसले गर्दा धेरै सहकारी संस्थामा संस्थागत सुशासन कयम हुन सकेको छैन भने आन्तरिक नियन्त्रण प्रणाली पनि फितलो बनेको छ ।

सहकारी संस्थामा लेखा सुपरीवेक्षण समिति प्रभावकारी बनाउँदा मात्रै पनि बचतकर्ताको रकम सुरक्षित हुने भए पनि अधिकांशले यसलाई देखाउने दाँत मात्र बनाएका छन्

सरकारले पनि सहकारीलाई स्वनियमनमा सञ्चालन हुने संस्थाको रूपमा परिभाषित गर्दै प्रभावकारी नियमन तथा अनुगमनको आवश्यकता महसुस गरेन । यसका सदस्य तथा लेखा समितबाट आन्तरिक नियमन हुने विश्वास गर्यो । तर लेखा समिति र सदस्यहरु सक्रिय नहुँदा केही संस्थाका सञ्चालकहरूले सदस्यको बचत दुरूपयोग गरिदिए ।

सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे लेखा सुपरीवेक्षण समिति सहकारी संस्थाको वाच डग भएको बताउँछन् । लेखा समितिले मात्रै संस्थाको सुपरीवेक्षण प्रभावकारी रूपमा गरिदिने हो भने पनि बचत दुरूपयोग नहुने उनको मत छ । सहकारी संस्थाका लेखा समितिले प्रभावकारी रूपमा आन्तरिक नियन्त्रण गर्दै  सदस्यहरूलाई जागरुक बनाउनु पर्नेमा घिमिरेको जोड छ ।

सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा सदस्यको बचत अपचलनको समस्या बढेर गएको विश्लेषण छ । संस्थामा सञ्चालक समिति र लेखा समिति समानान्तर रूपमा रहे पनि लेखाले सञ्चालक समितिलाई विश्वास गर्दा अहिलेको अवस्था आएको घिमिरेको बुझाइ छ । लेखा समितिले सक्रिय भएर आफ्नो भूमिका मात्रै निर्वाह गरिदिए संस्थाहरू सुशासनमा सञ्चालन भई सदस्यको बचत सुरक्षित हुने उनी बताउँछन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) का लेखा सुपरीवेक्षण समितिका संयोजक इन्दराज ज्योति पौडेल सहकारीमा स्वनियमन संयन्त्र, आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा अहिलेको समस्या सिर्जना भएको बताउँछन् । सञ्चालक समितलाई अंकुश लगाउन नसक्दा पनि सञ्चालक समितिमा हामी मालिक हौं भन्ने अहमता बढेको र त्यसको असर सहकारीले झेल्नुपरेको अर्को विश्लेषण पनि उनको छ ।

कुनै पनि संस्थाको सफलता र असफलतामा लेखासमितिको महत्त्वपूर्ण भूमिका रहने राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती सुनाउँछन् । उनले भने, ‘जुन सहकारी संस्थाको लेखा सुपरीवेक्षण समिति सक्रिय छ, त्यो संस्थामा हतपत संकट आउँदैन । तर जुन संस्थामा लेखा समिति निष्क्रिय छ, त्यस्ता संस्थाहरूमा व्यवस्थापनले, सञ्चालक समिति या कर्मचारीले केही न केही तलमाथि गरेको हुन्छ । त्यस्ता संस्था संकटमा पर्छन् ।’

कस्तो हुन्छ लेखा सुपरीवेक्षण समितिको भूमिका ?

संस्थामा सञ्चालक समिति भनेको कार्यकारिणी निकाय हो । जसले नीति, योजना बनाउने, निर्णय गर्ने, अनुगमन, निगरानी गर्ने, सदस्यको आवश्यकता–चाहना बुझ्ने र त्यसअनुसारको उत्पादन सेवाहरूको विकास गर्ने काम गर्दछ । व्यवस्थापनमार्फत कार्यान्वयन गरेर सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने काममा सञ्चालक समितिले भूमिका खेल्दछ भने सञ्चालक समिति र व्यवस्थापनले सम्पादन गरेका कार्यहरूको निगरानी लेखा सुपरीवेक्षण समितिले गर्दछ ।

सहकारी ऐन, नियमावली, सिद्धान्त, मू्ल्य–मान्यता, वार्षिक नीति र कार्यक्रमहरू त्यसको साथै प्रचलित कानुनहरूको परिवेशमा गएर संस्थाको सदस्यहरू, साधारण सभाले पास गरेका नीति र कार्यक्रमको आधारमा कार्यसम्पादन भए कि भएनन् भनेर हेर्ने, राम्रा कुराको पृष्ठपोषण गर्ने, कमीकमजोरी भएका छन् भने त्यसलाई सुधारका लागि सुझाव दिने घचघचाउनेलगायत कामहरू लेखा सुपरीवेक्षणले गर्छ ।

अर्को शब्दमा भन्नुपर्दा लेखा सुपरीवेक्षण समिति आन्तरिक नियामकीय निकाय पनि हो । आन्तरिक रूपमा सञ्चालक समिति, व्यवस्थापन समिति, कर्मचारीलगायतले सहकारी ऐनअनुसार परिपालन गरेको छ/छैन, सदस्यको पुँजी असुक्षित बनाएको छ कि छैन, आफ्नो निजी स्वार्थमा काम गरे, नगरेको नियालेर आन्तरिक रूपमा जाँच गर्ने निकाय नै लेखासुपरीवेक्षण समिति हो । यसले संस्था नियमअनुसार चले/नचलेको, असुली प्रक्रिया, समितिले बनाएका नीति नियमहरू कानुनसम्मत भए/नभएको हेर्ने काम गर्छ । यसले लेखा मात्रै नभएर सम्पूर्ण विषयको सूक्ष्म निगरानी राखेर तेस्रो आँखाको रूपमा भूमिका खेल्दछ । समग्रमा भन्नुपर्दा लेखा समिति आर्थिक नियन्त्रणक, सुपरीवेक्षक, नियन्त्रणकर्ता र परामर्शदाता हो । यसले सहकारी अभियानको यात्रामा ट्राफिकको भूमिका निभाउने कार्य गर्दछ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) का   वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर अधिकारी संस्थालाई बाहिरी प्रभावले बढी प्रदूषित गरेको र त्यसलाई हटाउन लेखा सुपरीवेक्षण समितिको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । संस्थाले विश्वाससाथ जिम्मा दिएको निकाय लेखा सुपरीवेक्षण समिति भएको हुँदा यसले आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्नेमा उनको जोड छ ।

के छ ऐनमा व्यवस्था ?

सहकारी ऐन २०७४ को परिच्छेद ६, दफा ४८ ले लेखा सुपरिवेक्षण समितिको व्यवस्था गरेको छ ।

जहाँ सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्न तोकिएबमोजिमको योग्यता पुगेका एक जना संयोजक र दुई जना सदस्यहरू रहने गरी साधारण सभाले निर्वाचनबाट लेखा सुपरिवेक्षण समिति गठन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, एउटै परिवारको एकभन्दा बढी व्यक्ति एकै अवधिमा एउटै सहकारी संस्थाको सञ्चालक वा लेखा सुपरीवेक्षण समितिको संयोजक वा सदस्य पदमा उम्मेदवार बन्न र निर्वाचित हुन नपाउने ऐनमा व्यवस्था छ ।

ऐनमा व्यवस्था गरेअनुुसार लेखा समितिले प्रत्येक चौमासिकमा सहकारी संस्थाको आन्तरिक लेखापरीक्षण गर्ने, गराउने काम गर्नुपर्छ । त्यस्तै, आन्तरिक लेखापरीक्षण गर्दा लेखापरीक्षणका आधारभूत सिद्धान्तको पालना गर्ने, गराउने, वित्तीय तथा आर्थिक कारोबारको निरीक्षण तथा मूल्याङ्कन गर्ने, गराउने गर्नुपर्छ । यस्तै समितिको काम कारबाहीको नियमित सुपरीवेक्षण गर्ने र समितिलाई आवश्यक सुझाव दिने, साधारण सभाको निर्देशन, निर्णय तथा समितिका निर्णय कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने, लेखासम्बन्धी प्रतिवेदन र समितिको काम कारबाहीको सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदन साधारण सभासमक्ष पेश गर्नेलगायत छन् ।

किन प्रभावकारी भएनन् लेखा समिति ?

जुन बेला सहकारीमा कार्यनीति बनेकै थिएन, त्यतिबेला लेखा समिति भन्नेवित्तिकै खाली भौचरको डेबिट/क्रेडिट वा आउने, जाने कुरा भनेर बुझ्ने गरिन्थ्यो । तर यसको काम यो मात्रै नभएर बहुआयामिक छ । लेखा सुपरीवेक्षण समितिले सक्रिय भएर आफ्नो काम र कर्तव्य निभाउनुपर्ने हो त्यो निभाउन सकेको छैन । यसमा विभिन्न कारणहरु छन् ।

लेखा सुपरीवेक्षण समितिमा पढे लेखेको, क्षमतावान् हुन आवश्यक हुन्छ ।  किनभने, त्यसले एकाउन्टिङ टर्मिनोलोजी बुझेको हुनुपर्छ । लेखा समितिले संस्थाको हिसाबकिताब बुझ्न र हेर्न जान्नुपर्दछ । साथै आफू पनि अनुशासनमा बस्नुपर्छ । तर संस्थाहरूमा दक्ष, अनुभवी, क्षमतावान्लाई समेटेर लेखा समिति बनाउने भन्दा पनि भागबण्डामा गर्ने गरिएको छ । समितिमा सक्षम व्यक्ति चुन्नुपर्नेमा अध्यक्ष या सञ्चालक समितिले देखाएको मान्छेलाई चुन्दा यसले प्रभावकारी रूपमा काम गर्न नसकेको नेफस्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक पौडेलको ठम्याइ छ । निर्णय लिन र अडान राख्न नसक्ने लेखा समितिले व्यवस्थापक र सञ्चालक समितिले तयार पारेको प्रतिवेदन साधारणसभामा पढ्ने अर्को प्रवृत्तिले पनि यसलाई कामयावी हुनबाट रोकेको उनको तर्क छ ।

लेखा समितिको महत्त्व नबुझीकनै सामान्य ज्ञानसमेत नभएकालाई चिनजानकै आधारमा राख्ने प्रवृत्तिका कारण त्यस्ता व्यक्तिले सक्रिय भएर काम गर्न नसक्ने र संस्था असफल हुने राष्ट्रिय सहकारी बैकका लेखा सुपरीवेक्षण समिति संयोजक उप्रेती सुनाउँछन् । भन्छन्, ‘धेरैजसो सञ्चालक समितिमा जान होडबाजी गर्ने, लेखासमितिमा बस्न कोही नमान्ने । अन्तिममा चित्त बुझाउन त्यस्ता ठाउँमा ल्याएर चिनजानकै मान्छे ल्याएर राख्दिने । त्यसले ऐन कानुनको मर्मअनुसार काम गर्न सक्दैन । काम गर्न नजानेपछि संस्था कसरी बलियो होला ?,’ उनले प्रश्न गरे ।

लेखा समितिमा बस्ने व्यक्ति लोभलालचमा फस्दा अरूको कमजोरी औंल्याउने नैतिकता गुम्ने र परिणामतः सिंगो समिति नै पंगु हुने उनको भनाइ छ । कतिपय अवस्थामा समिति क्षमतावान् र लोभलालचमा नपर्ने भए पनि  सञ्चालक र व्यवस्थापनले सहयोग गरेन भने पनि प्रभावकारी काम गर्न नसक्ने उनको राय छ ।

लेखा समितिलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम

सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे लेखा सुपरीवेक्षणलाई प्रभावकारी बनाउनका लागि योग्य लेखा समिति चुन्नुपर्ने मत राख्छन् । सहकारीमा लेखा समितिले निष्पक्ष भएर काम गर्न नसकेका  कारण समस्या देखिएको बताउँदै उनले लेखा समितिलाई प्रभावकारी बनाउन सहकारी विभागले तोकेको ऐन पालना गर्नुपर्ने बताए । त्यसका लागि विभागले समयसमयमा ऐनको प्रावधान स्मरण गराउनेलगायत कार्य गर्दै आएको उनले बताए । विभागले व्यवस्था गरेको ऐन पालना भएको अवस्थामा लेखा समिति आफैं सशक्त हुने उनको विश्वास छ ।

राष्ट्रिय सहकारी बैकका लेखा समिति संयोजक उप्रेती संस्थामा लेखा समितिको भूमिका स्थापित गर्न र प्रभावकारी बनाउन सञ्चालक र व्यवस्थापनले काम गर्ने वातावारण बनाइदिनुपर्ने औंल्याउँछन् । लेखा समिति र सञ्चालक समितिको एउटै लक्ष्य संस्थालाई कसरी राम्रो बनाउने भन्ने भएकाले दुवैले एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

तालिम तथा गोष्ठी

संस्थामा सुशासन कायम राख्न र सहकारी सिद्धान्तले भनअनुसार को स्वतन्त्र एवं स्वायत्त बनाउन लेखा सुपरीवेक्षण समितिलाई तालिम तथा गोष्ठी अति आवश्यक छ । तर नेपालमा यस्ता प्रकृतिका तालिम विरलै सञ्चालन हुने गरेका छन् ।

नेफस्कूनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता अधिकारी सहकारीमा अहिले देखिएका समस्या समाधान गर्न लेखा समितिलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको बताउँछन् । त्यसका लागि पनि तालिम तथा गोष्ठी अत्यन्तै आवश्यक भएको उनको भनाइ छ । ‘तालिम तथा गोष्ठीमा समितिले गर्नुपर्ने काम, क्षेत्रहरू विधिहरू, रिपोर्टिङ गर्ने ढाँचाहरूको बारेमा स्पष्टसँग बुझाइने भएकाले यो अति महत्त्वपूर्ण छ,’ उनले भने ।

नेफस्कून लेखा सुपरीवेक्षण समितिका संयोजक पौडेल पनि लेखा समितिको महत्त्व र उपयोगिता के हो भन्ने कुरा प्रष्ट पार्न तालिम तथा गोष्ठी प्रभावकारी हुने बताउँछन् । ‘गोष्ठीमा हामीले  संस्थामा भूमिका कसरी निर्वाह गर्नुपर्छ भनेर सीप सिकाएका छौ, सीप सिकेपछि ती टुल्सहरू कुन कुन कहाँ र  कसरी प्रयोग गर्ने भन्ने सिकेर गएकाले गोष्ठी फलदायक बनेको छ,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष