कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?

काठमाडौं । देशका प्रधानमन्त्रीको सम्पत्ति कति छ भन्ने विषय आम नागरिकको चासोको विषय हो । हालै भएको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा हुनेहरुले अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।
प्रधानमन्त्री प्रचण्डको नाममा १५ कट्ठा जग्गा, पाँच तोला सुन र २५ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले बुझाएको उक्त विवरणमा भरतपुर महानगरपालिका वडा नं १४ मा उनको पार्किङ सहितको १४ कट्ठा जग्गा छ । उक्त जग्गा उनकी दिवंगत श्रीमति सीता दाहालको नाममा छ । त्यस्तै, श्रीमतिकै नाममा भरतपुर महानगरपालिका वडा नं १२ मा अंशबाट प्राप्त भएको एक कट्ठा जग्गा रहेको छ ।
चल सम्पत्तितर्फ प्रधानमन्त्रीसँग ५ तोला सुन छ । उक्त सुन पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा रहेको खाताको विवरण हेर्दा उनको नाममा एभरेष्ट बैंकमा रहेको खातामा २५ लाख रुपैयाँ मौज्दात छ । प्रधानमन्त्री प्रचण्डले कुनै पनि कम्पनीमा ऋण खरिद नगरेको र कसैलाई ऋण नदिएको/कसैबाट नलिएको उल्लेख गरेका छन् । त्यस्तै, उनको नाममा कुनै पनि सवारीसाधन दर्ता छैन ।
प्रतिक्रिया