NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

रास्वपाले भन्यो – सिरोहिया पक्राउ प्रेस स्वतन्त्रताको हनन हैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेको छ ।

पार्टी सभापतिसमेत रहेका गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोध साँध्नकै लागि सिरोहियालाई पक्राउ गरेर प्रेस स्वतन्त्रता हनन भएका आवाज उठिरहेका थिए ।

यसको खण्डन गर्दै रास्वपाले आज एक विज्ञप्तीमार्फत नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको जनाएको छ । ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पूर्वाग्रहकै बलमा राजनीतिक प्रणाली विकृत हुँदै गएकोमा रास्वपा स्पष्ट भएको उसको अडान छ । ‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो,’ कानुनभन्दा माथि कोही नभएको जिकीर गर्दै विज्ञप्तीमा जनाइएको छ ।

नागरिकता किर्ते अभियोगमा अध्यक्ष सिरोहियालाई हिजो उनको कार्यकक्षबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । उनको नाममा जारी भएको नागरिकता अर्कैको नाममा त्यसअघि नै जारी भएको पाइएको छ ।