NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते
विचार

गणतन्त्र र नागरिक चाहना

णतन्त्र नागरिकको आफ्नै व्यवस्था हो । नागरिक आफैं सार्वभौम हुनेगरी गरिएको शासकीय आविस्कार हो, गणतन्त्र । वंशीय शासन प्रणालीबाट वाक्क जनता आफैंले छानेका वारेसमार्फत आफ्नो चाहनामा शासित र संरक्षित भई निजी स्वतन्त्रतासहित जीवन आनन्दको अनुभव गर्न गणतन्त्र स्थापना भएको हो । नागरिक शक्तिको स्रोत र राजकीय अवसरमा सबै नागरिकको समान हक हुन्छ भन्ने मान्यता यसभित्र छ ।

आधुनिक लोकतन्त्रको विकास सन्दर्भ एथेन्सबाट इशापूर्व ५०९ मा र गणतन्त्रको विकास इशापूर्वको चौथो शताब्दीमा प्राचीन रोम राज्यबाट भएको थियो । रोममा विकास भएको गणतन्त्र करिब ५०० वर्षसम्म त्यही रूपमा रह्यो । विभिन्न गण (थुम वा चुनाव क्षेत्र) बाट त्यहाँका नागरिकले प्रत्यक्ष मतमार्फत चुनेर पठाएका सिनेटरहरूले सम्प्रभुशक्ति प्रयोग गर्ने, सरकार बनाउने र जनतामा सेवासुविधा दिने काम गर्दथे । सेक्रेटसको वार्ता र आफ्नो अध्ययनका आधारमा प्लेटोले आफ्नो पुस्तक ‘रिपब्लिक’मा गणतन्त्रको स्वरूप र कार्यबारे विस्तृतमा प्रकाश पारेका थिए । उनका अनुसार गणतन्त्रमा समूह शक्ति (नागरिक) को सहभागिताले शासन गर्दछ । उनले शासन प्रक्रियामा शासक (सही र गलत छुट्याउने), गार्जियन (नगरको संरक्षण गर्ने वर्ग) र प्रोड्युसर (सर्वसाधारणलाई वस्तु सेवा उत्पादन गर्ने) को भूमिका उल्लेख गरेका थिए । शासकको आफ्नो खुसी होइन, नागरिक न्याय र खुसीलाई केन्द्रबिन्दुमा राखेर उनीहरूकै वारेसले शासन गर्ने कुरा प्लेटोले रिपब्लिकमा व्याख्या गरेका थिए ।

विकास र शासकीय प्रणालीबीच सिधा सम्बन्ध हुन्छ । जहाँ जनउत्तरदायी शासन प्रणाली हुँदैन, त्यहाँ विकास हुँदैन । कुलीन प्रणाली विकास र जवाफदेहिताको बाधक भएकाले नै यसको विकल्प आविष्कार भएको हो 

आधुनिक गणतन्त्रको विकासमा अमेरिकी स्वतन्त्र संग्राम (१७७५–८८) र फ्रान्सेली राज्य क्रान्ति (१७८७–८९) को महत्त्वपूर्ण योगदान छ । यी दुुई घटनाले गणतन्त्रको अभ्यास र आकार निर्धारण गरेको थियो । विश्वमा अहिले विभिन्न ढाँचाको गणतन्त्र अभ्यासमा छ । ५९ मुलुकका राष्ट्रपतीय गणतन्त्र र ५१ मुलुकमा संसदीय गणतन्त्र छ । अमेरिका राष्ट्रपतीय गणतन्त्र भएको मुलुक हो, त्यहाँ प्रधानमन्त्री पनि हुँदैन तर दक्षिण कोरिया राष्ट्रपतीय गणतन्त्रको मुलुक भएर पनि प्रधानमन्त्रीको व्यवस्था छ । भारत, नेपाल संसदीय गणतन्त्रका उदाहरण हुन् । फ्रान्स, इजिप्ट, श्रीलंका, पोर्चुगलमा राष्ट्रपतीय र संसदीय गणतन्त्रको मिश्रित ढाँचा छ । केही मुलुकहरूले गणतन्त्र, लोकतन्त्र नभए पनि नाममा गणतन्त्र राखेका छन् । जस्तो कि जनगणतन्त्र कोरिया (उत्तर कोरिया) । कतिपय तानाशाहहरू पनि गणतन्त्रको नाममा आफ्नो शासनको लोकतान्त्रिक ब्राण्डिङ गर्न उद्यत छन् । तर गणतन्त्र हुन उच्च कोटीको नागरिक भावना चाहिन्छ । नामले होइन, कामले मात्र गणतन्त्र हुने हो ।

दक्षिणपन्थ शासक अधिकनायकवादी हुने क्रममा नागरिकका नाम उछालेर शासन गरिरहेका छन् । यो जनताको नाममा गरिएको बेइमानी हो । नागरिक नाममा चुनिएर, राजा/सम्राटका स्थानमा जनताको सन्तान राष्ट्राध्यक्ष भएर मात्र गणतन्त्र हुने होइन । नागरिक भावनाको सम्मान र प्रतिनिधित्व भएको खण्डमा मात्र असली गणतन्त्र हुनेछ । शासन सञ्चालन गर्दा नागरिक भावना परिचालित भएपछि मात्र गणतन्त्र (वा लोकतन्त्र) को अन्तर्य पूरा हुन्छ । सरकार जनमुखी, सीमित, जवाफदेही हुनुपर्छ । नागरिक न्याय र खुसी यसको अभिष्ट हो । नागरिक अवसर निर्माण र वितरण हुनुुपर्छ । प्रतिनिधि र शासक नागरिकका ट्रष्टी हुन्, त्यहाभन्दा माथि न उनीहरूको हेसियत हुन्छ, न काम नै ।

आधुनिक लोकतन्त्रको विकास सन्दर्भ एथेन्सबाट इशापूर्व ५०९ मा र गणतन्त्रको विकास इशापूर्वको चौथो शताब्दीमा प्राचीन रोम राज्यबाट भएको थियो । रोममा विकास भएको गणतन्त्र करिब ५०० वर्षसम्म त्यही रूपमा रह्यो

कतिपयहरू लोकतन्त्र र गणतन्त्रलाई छुट्याउने गर्दछन् । त्यसो गर्नु पनि आवश्यक छैन । न त यी दुई प्रतिस्पर्धी व्यवस्था नै हुन् । प्राचीन इतिहास हेर्ने हो भने विभिन्न समूह (गण) मा नागरिकलाई आबद्ध भई राज्य सञ्चालन गर्नेे अभ्यास नै गणतन्त्र हो । एथेन्सवासीले लोकतन्त्र (डेमोक्रेसी) शब्दलाई प्रयोगमा ल्याए । लोकतन्त्र (प्रजातन्त्र) एथेन्समा विकास भएको थियो । यो ग्रीक भाषाबाट विकास भएको डेमोक्रसीको रूपान्तर हो । डेमोसको अर्थ सर्वसाधारण वा नगरवासीलाई बुझाउन र क्राटोसले शासन बुुझाउँथ्यो । डेमोक्रेसी सञ्चालनका लागि एथेन्सीबासीहरूले परिषद्को व्यवस्था गरेका थिए, जहाँ सबै राजकीय पदहरू निश्चित विधिमा चयन हुन्थे । यो प्रक्रिया जटिल भए पनि सबैको सहभागिता हुन्थ्यो । एथेन्समा लोकमतमा आधारित शासन प्रणाली शुरु गरेजस्तै उता रोमवासीहरूले इटालियन प्रायद्वीपमा सञ्चालित लोकमतमा आधारित प्रणालीलाई रिपब्लिक नाम दिन रुचाए । ल्याटिन भाषामा ‘रेस’ को अर्थ गतिविधि र आमसर्वसाधारण हुन्छ । गणतन्त्रमा शासन गर्ने अधिकार पहिला सामन्तमा मात्रै भए पनि पछि यसलाई नागरिक वर्चस्वमा लगियो । नागरिकका सन्तानले मात्र शासनको नेतृत्व गर्न पाउने भए । यसर्थ लोकतन्त्र र गणतन्त्रमा खासै भिन्नता छैन । एक मात्र भिन्नता सांकेतिक राजतन्त्र भएको स्थानमा पनि लोकतन्त्र हुन सक्छ जस्तो : स्पेन, बेलायत, मलेसिया । तर गणतन्त्रमा लोकतन्त्र भइकन पनि राष्ट्र प्रमुखमा नागरिकको सन्तान मात्र पुुग्छ, वंशीय आरक्षण हुँदैन । केवल यति फरक छ कि गणतन्त्रमा सार्वभौम शक्ति व्यक्तिमा निहित हुन्छ, प्रजातन्त्रमा व्यक्तिको समूहमा ।

नागरिक नाममा चुुनिएर, राजा/सम्राटका स्थानमा जनताको सन्तान राष्ट्राध्यक्ष भएर मात्र गणतन्त्र हुने होइन । नागरिक भावनाको सम्मान र प्रतिनिधित्व भएको खण्डमा मात्र असली गणतन्त्र हुनेछ

प्रजातन्त्र र गणतन्त्रको फरकका सन्दर्भमा अमेरिकी संविधानविद् जेम्स मेडिसनले सन् १८८७ मा भनेका थिए, ‘सानो संख्यामा नागरिक रहने यस्तो समाज जहाँ नागरिकहरू स्वयं उपस्थित भई सरकार निर्माण गर्न र प्रशासन चलाउन सक्छन्, त्यो मेरो विचारमा विशुद्ध प्रजातन्त्र हुन्छ’ र ‘त्यस्तो सरकार जहाँ प्रतिनिधित्वको प्रक्रिया कायम रहन्छ, गणतन्त्र हुन्छ’ । भुल्न नहुने कुरा के हो भने गणतन्त्र लोकतन्त्रको त्यो अवस्था हो जहाँ वंशानुगत रूपमा कसैले पनि विशेषाधिकार पाउँदैन ।

नेपालमा गोपालवंशी राजाहरूबाट शुरु भएको वंशीय शासन व्यवस्था किरात, लिच्छवी, मल्ल हुँदै शाह अवधिमा व्यवस्थित र कठोर भयो । झण्डै तीन सहस्राब्दीको वंशीय परम्परालाई नागरिक शासनले विस्थापन गर्ने काम दोस्रो अप्रिल क्रान्ति (२०६३) पछि मात्र भयो । अहिले राज्यका सबै पद र अवसरहरूमा सर्वसाधारणको हक विस्तार भएको छ । समानता, न्याय र समृद्धिका लागि राज्य प्रक्रिया क्रियाशील हुनुुपर्ने संवैधानिक निर्देश छ ।

विश्वमा अहिले विभिन्न ढाँचाको गणतन्त्र अभ्यासमा छ । ५९ मुलुकका राष्ट्रपतीय गणतन्त्र र ५१ मुलुकमा संसदीय गणतन्त्र छ

हामीले गणतन्त्र किन चाह्यौं, पराम्परागत राजतन्त्रलाई किन नेपाली समाजले स्वीकार गरेन भन्नेतर्फ विचार गरौं । पहिलो त, नागरिकले सम्पूर्णतः स्वाधीन, सशक्तीकृत र स्वायत्त हुन चाहे । राजतन्त्र विकासको बाधक नभएको उदाहरण बेलायत, स्पेन, डेनमार्क, नर्बेबाट पनि पाउन सकिन्छ । अस्टे«लिया र क्यानडाले उन्नत संघीय लोकतन्त्र अभ्यास गरेर पनि सांकेतिक रूपमा राजतन्त्रप्रति सम्मान गरिरहेका छन् । तर नेपालमा राजतन्त्रले नागरिक हक र खुसीलाई सम्बोधन गरेन । राज्यका महत्त्वपूर्ण अवसर र पदहरू आफ्नै स्वार्थका मानिसमा मात्र उपलब्ध गयो । आमजनातामा शासकीय लाभ पुुगेन । त्यसैले वंशाणु अधिकार गलत हो भन्ने निष्कर्ष दोस्रो अप्रिल क्रान्तिको थियो ।

गणतन्त्रमा विकास र न्याय पनि संस्थागत गर्न सकिन्छ भन्ने निष्कर्ष निकालियो । विकासका लागि जनताप्रति उत्तरदायी शासन प्रणाली चाहिन्छ । विकासका लागि जनताको साधन स्रोतको उपयोग जनताका लागि नै गर्ने प्रणाली चाहिन्छ । इतिहासमा वंश परम्पराका राजाहरू जनताको सुख–दुःख बुझ्न र सम्बोधन गर्न उदाहरण बनेको नपाइएको होइन । तर अरूका लागि काम गर्ने वंशानुगत अधिकार प्रयोग गर्ने व्यक्तिले साधन, स्रोत, शक्ति र दायित्वप्रति स्वविवेकी जवाफदेहिता निर्वाह गर्दछ । यस अवस्थामा जनता विकासका निष्क्रिय उपभोक्ता मात्र गनिन्छन् । जानाजान वा अन्जान नराम्रो कामको जवाफदेहिताको माग गर्ने सम्भावना कम हुन्छ । इतिहासले यसैको पुष्टि गरेको छ । त्यसैले दार्शनिक प्लेटोले गणतन्त्रको कल्पना गरेका थिए । त्यति मात्र होइन, युरोपको इतिहास हेर्ने हो भने घटनाक्रम यतिसम्म क्रूर भयो कि राजालाई फाँसिदिने सम्मका काम भए । कतिपय मुलुकले राजा भन्ने शब्द उच्चारण गर्न समेत रुचाएनन् । यसो हुनुको पछि राजाहरूको व्यवहार नै जिम्मेवार थियो । युद्ध गर्न, वैयक्तिक ऐयासी पूरा गर्न र रानीहरूको भोगविलास पूरा गर्नलाई उनीहरूले प्राथमिकता दिन्थे भने जनताचाँहि विकास र समृद्धिको सुनिश्चितता र विपत्तिबाट सुरक्षा चाहन्थे । त्यसैले गणतन्त्र आप्mना पक्षमा काम गराउने प्रणालीका लागि जनताबाट गरिएको आदर्श आविष्कार हो, जहाँ कुनै शासकले नराम्रो काम गरेमा उसलाई फर्ने अधिकार पनि जनता आफैंसँग सुरक्षित हुन्छ । त्यसैले गणतन्त्र र विकास एकअर्कामा परिपूरक हुन् । गणतन्त्र जहाँ संस्थागत छ, त्यहाँ विकास पनि संस्थागत र दिगो छ । जहाँ निरंकुशता छ, त्यहाँ संरचनागत रूपमा विकास भएजस्तो देखिए पनि विकास संस्थागत भएको छैन । अपवादमा केही युरोपीय मुलुकहरूमा राजतन्त्रमा पनि विकास भएको भन्ने तर्क उठाउन सकिएला । तर त्यहाँ राजाको भूमिका सक्रिय र कार्यकारी नभई सांकेतिक र सांस्कृतिक मात्र छ, जनताका प्रतिनिधि नै जनताका अभिमत परिचालन एवं प्रत्यक्ष जवाफदेहिताबाट मूल्यांकित छन् । परिणामतः विकास पनि सहज छ ।

गणतन्त्र हुन उच्च कोटीको नागरिक भावना चाहिन्छ । नामले होइन, कामले मात्र गणतन्त्र हुने हो

विकास र शासकीय प्रणालीबीच सिधा सम्बन्ध हुन्छ । जहाँ जनउत्तरदायी शासन प्रणाली हुँदैन, त्यहाँ विकास हुँदैन । कुलीन प्रणाली विकास र जवाफदेहिताको बाधक भएकाले नै यसको विकल्प आविष्कार भएको हो । बेलायतको इतिहास हेर्ने हो भने पनि राजा र जनता (संसद्) बीचको संघर्षले बाह्रौं शताब्दीदेखि नै उत्कर्ष रूप लिएको थियो । इटालीका सम्राट इमानुयललाई जनबलद्वारा फालिएको थियो । फ्रान्सको इतिहास अझै कठोर छ । त्यसैले पुस्तौनी शासनको विकल्पमा ‘प्रजातन्त्र’लाई अभ्यास गर्ने परम्परा बसालियो । जसले जे भने पनि प्रजातन्त्र वंश परम्पराले शासन गर्ने प्रवृत्तिको विकल्पमा अपनाइएको पद्धति हो । जसलाई सुकरात, प्लेटो र आरस्तुजस्ता दार्शनिकले गणतन्त्रको नामाकरण गरे । रोमनहरू पहिलेदेखि नै प्रजातन्त्रको सट्टामा गणतन्त्र शब्दको प्रयोग गर्दथे । यसर्थ सबैजसो लोकतन्त्रवादी स्वभावतः ‘गणतन्त्रवादी’ पनि हुन् । उनीहरूको अन्तिम गन्तव्य कुलीन शासनको अन्त्य र राज्य सञ्चालनमा सर्वसाधारणको सहभागितालाई संस्थागत गर्नु नै हो । राजनैतिक घटनाक्रमको विश्लेषण गर्दा निष्कर्ष निक्लन्छ कि राजतन्त्र र प्रजातन्त्र एकसाथ हिँड्न सक्ने विषय नै होइन । न राजतन्त्रको प्रजातान्त्रीकरण नै सम्भव छ । विश्व इतिहासले पटक–पटक यसैको पुष्टि गरेको छ । राज्य प्रक्रियालाई समावेशी र विकासलाई समन्यायिक बनाउन वंश परम्परा बाधक नै हुन्छ ।

दक्षिणपन्थ शासक अधिकनायकवादी हुने क्रममा नागरिकका नाम उछालेर शासन गरिरहेका छन् । यो जनताको नाममा गरिएको बेइमानी हो

गणतन्त्र स्थापनापछि नेपालमा विकास क्रियाकलाप र सेवा प्रवाह प्रभावकारिता विस्तारका केही काम भएका छन् । विकास व्यवस्थापन सफेद र सङ्लो छ भन्न सकिने अवस्था नरहे पनि लोकतान्त्रिक संरचना स्वयं यसको उपचार हो । प्रजातान्त्रिक सरकारका हरेक क्रियाकलाप पारदर्शी एवं जवाफदेही हुने हुनाले स्वभावतः त्यहाँ अनियमितता र भ्रष्टाचार मौलाउन पाउँदैन । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि प्रजातान्त्रिक संरचनाकोे क्रियाशीलता पूर्व शर्त हो । हिजोका अनियमितता र अपराध छोपिएका थिए, अहिले ती जो हिजोको मनस्थितिमा काम गरिरहेका छन्, उसको क्रियाकलाप वाहिरिएको छ । लोकतन्त्र (गणतन्त्र) मा जनताको आकांक्षाहरू मडारिएका छन्, उनीहरू छिटोभन्दा छिटो आफ्ना आकांक्षाहरू पूरा भएको देख्न चाहन्छन् । उनीहरू हिजोको अभावको पनि अहिले क्षतिपूर्ति चाहन्छन् ।

समावेशीकरण र समन्यायिक विकासको माग त्यसैको प्रतिध्वनि हो । तर लोकतान्त्रिक गणतन्त्र संस्थागत नभएको, दक्षिणपन्थी विचार व्यवहार हाबी भएको र जनप्रतिनधिहरूमा सामन्ती सोच बाँकी रहेकाले जनता निराश छन् । निर्वाचित निरंकुशताका कारण राज्यका अंगहरू निरीह बनेका छन् । जनता विकल्पहीन अवस्थामा छन् । यसले व्यक्ति जित्दा समाज र शासन हार्ने परिस्थिति सिर्जना होला कि भन्ने सन्देह पैदा भएको छ । गणतन्त्र दिवसले गणतन्त्रका योद्धाहरूलाई आफ्नै सोचवृत्ति र व्यवहार बदल्न, आफैंलाई विचरण गर्नेतर्फ ध्यान पुगोस् । राज्य संरचना बाहिर रहेका संरचनाहरूबाट पनि निरन्तर पहरेदारी होओस् ।

(मैनालीलाई ट्विटरमा @mainaligopi मा भेट्न सकिन्छ ।)