NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

‘‘मेची भन्सारका कर्मचारी दैनिक ३ लाखसम्म घुस उठाउँछन्, सबैलाई बाँड्छन्’’

काठमाडौं । सरकारी तलब भत्ता खाने कर्मचारीका लागि अवैध घुस र कमिसन माछाका लागि पानीजस्तै बन्न थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश एउटा रिर्पोटले झापाको मेची भन्सार कार्यालयबाट दैनिक रूपमा शीर्षक नै तोकेर गैरकानूनी रकम उठाउने गरेको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयमा पेश भएको  रिर्पोटअनुसार भन्सार कार्यालयका कर्मचारीहरूले जाँचकी फण्डको नाममा दैनिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म संकलन गर्छन । यस्तै, कर्मचारी फण्ड भन्दै डेढ लाखसम्म संकलन गर्छन ।

यसरी उनीहरुले दैनिक ३ लाखसम्म अवैध रकम संकलन गर्ने गरेको रिर्पोटमा उल्लेख छ । संकलित रकममध्ये कर्मचारी फण्डकाे रकम भन्सारकै कर्मचारीबीच बाँडफाँट हुन्छ । त्यसरी बाँडफाँट हुँदा भन्सार कार्यालयका प्रमुखसमेत सहभागी हुन्छन् । जाँचकी फण्डका नाममा असुल रकम मालवस्तु जाँचपासमा खटिने खरिदार, सुब्बालगायत तल्लो तहका कर्मचारीसम्म पुग्ने बताइन्छ ।

मेची भन्सार कार्यालय प्रमुखमा उपसचिव रामप्रसाद रेग्मी छन् । रेग्मी आकर्षक कार्यालय चहार्ने राजस्व कर्मचारीका रूपमा चिनिन्छन् ।

उनीमाथि लोकमान सिंह कार्की र दीपकुमार बस्न्यातसँग नजिक रहेर गैरकानूनी आर्जनमा संलग्न भएकाे आरोप विगतमा लागेको थियो । नवीन घिमिरे अख्तियार दुरूपयाेग अनुसन्धान आयोगकाे प्रमुख आयुक्त हुँदा उनीविरुद्ध सम्पत्ति छानबिनसमेत भएको थियो ।

एक हजारदेखि ३ हजारसम्म असुली 

मेची भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, पशु आहारको कच्चा पदार्थ, कोइला, तेल, अदुवा, फलामका सामग्री, जुट तथा यसका उत्पादन, खाद्यान्न तथा तरकारीलगायत वस्तु आयात/निर्यात हुने गदर्छ । उक्त कार्यालय हुँदै दैनिक सयदेखि १५० वटासम्म निकासी तथा पैठारी गाडीहरु जाँचपास हुने गरेका छन् । कर्मचारीहरुले वस्तुको परिणाम र मूल्य हरेर कर्मचारी फण्डको नाममा प्रति गााडी एक हजारदेखि ३ हजारसम्म र जाँचकी फण्डको नाममा प्रति गाडी ५ सयदेखि १५ सय रूपैयाँसम्म असुल्ने गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

‘कर्मचारीले उठाएको भए मलाई थाहा हुन्छ । म यहाँको हाकिम हुँ । कहिलेकाहीँ कार्यालय सहयोगीले २०/२५ रूपैयाँ उठाएको थाहा हुँदा पनि कारबाही गरेको छु ।’

भन्सार प्रमुुख भन्छन्, ‘थाहा नै भएन्’

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी यसबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । नेपालवाचको जिज्ञासामा उनले मेची भन्सारले राजश्वबाहेक अन्य कुनै पनि फण्डमा रकम नउठाएको दाबी गरे ।

‘मलाई यसबारे केही जानकारी भएन्, मेची भन्सारले राजश्वबाहेक अरु कुनै फण्ड उठाउँदैन्,’ उनले भने , ‘बोर्डरमा विभिन्न निकाय छन् । कुनै अन्य निकायले उठाएको भए थाहा भएन । पहिला हुन्थ्यो होला, तर अहिले त्यो सम्भव छैन।’

कर्मचारीले उठाइरहेका छन् कि ? भन्ने प्रश्नलाई पनि रेग्मीले अस्वीकार गरे । उनले भने, ‘कर्मचारीले उठाएको भए मलाई थाहा हुन्छ । म यहाँको हाकिम हुँ । कहिलेकाहीँ कार्यालय सहयोगीले २०/२५ रूपैयाँ उठाएको थाहा हुँदा पनि कारबाही गरेको छु ।’