टेबलको समेत काम गर्ने बहुउपयोगी झोला बनाउने वेदिका

काठमाडौं । कक्षा चारसम्म नेपालमै अध्ययन गरेकी वेदिका मुरारकाले त्यसपछिको शिक्षा भारतमा पूरा गरिन् ।
भारतमा उच्च शिक्षाको पढाइ सकेर लण्डन स्कुल अफ इकोनोमिक्सबाट सोसल इनोभेसन एन्ड आन्ट्रपेनरसिप विषयमा स्नातकोत्तर गरिन् । साेही विषय पढ्दै गर्दा कक्षामा प्रोजेक्टको रूपमा काम गर्नुपर्ने भयो र बिजनेस आइडिया दिनुपर्यो । उनको यही प्रोजेक्टको प्रयास हो, ‘एडुकेस’ ।
सामान्यतया विद्यार्थीहरूले कक्षामा प्रोजेक्टको रूपमा गर्ने अधिकांश सिर्जनशील कामले कालान्तरमा निरन्तरता पाउँदैनन् । तर वेदिकाको हकमा यो लागू भएन । कक्षामा प्रोजेक्टको रूपमा आएको आइडियालाई उनले संस्थागत नै बनाइन् । उनको यो प्रयासले सामुदायिक विद्यालयका धेरै विद्यार्थीहरू लाभान्वित भएका छन् ।
उनले प्रोजेक्टको रूपमा आएको उक्त आइडियालाई साथीहरूसँग मिलेर थप विस्तार गर्ने योजना बुनिसकेकी थिइन् । मात्रै यसलाई कसरी अगाडि बढाउने भन्नेमा द्विविधा थियो । त्यही सिलसिलामा पढाइ सकेर उनी सन् २०१७ मा नेपाल फर्किइन् र यसबारे थप अनुसन्धान गर्नतिर लागिन् । यही दौरान नेपालको ग्रामीण भेगका बालबालिकाका साथै सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीकाे पूर्वाधार अभावबारे जानकारी पाइन्।
ती विद्यालयहरूमा किताब, कपी राख्न टेबलजस्ता पूर्वाधार नभएको थाहा पाएपछि उनले आफ्नो कामलाई यहीँबाट सार्थकता दिने निर्णय गरिन् । टेबलको अभाव रहेको परिस्थितिको विकल्पमा उनले आफूले कलेजमा गरेको प्राजेक्टलाई व्यावहारिक ढंगबाट अघि बढाउने सोच बनाइन् । फलतः सन् २०२१ मा एडुकेसलाई उनले संस्थागत गर्न संस्था दर्ता गरिन् ।
के हो एडुकेस ?
एडुकेस एउटा झोलाको नाम हो । जुन सजिलैसँग टेबलमा रूपान्तरण हुन्छ । यसलाई विद्यालय र घरमा पढ्नका लागि प्रयोग गर्न सकिन्छ । विद्यालय जाँदा सामान्य अन्य झोलाजस्तै बोकेर हिँड्न पनि मिल्ने र विद्यालय पुगिसकेपछि फोल्ड गरेर टेबलमा रूपान्तरण गर्न सकिनु यसको विशेषता हो । एडुकेसले उत्पादन गर्ने झोला अहिलेसम्म ४ हजार ६०० ले प्रयोग गरिसकेका छन् ।
नेपालवाचको नियमित भिडियो प्रस्तुति ‘एजुकेसन डायलग‘को नयाँ श्रृंखलामा प्रस्तोता नरोत्तम अर्यालले एडुकेसकी सह-संस्थापक वेदिका मुरारकासँग कुराकानी गरेका हुन् ।
हेरौं कुराकानीको विस्तृत अंक :
प्रतिक्रिया