NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

मध्यराति कांग्रेस-एमालेबीच सत्तासहकार्यको समझदारी, प्रचण्ड सरकार ढल्ने निश्चित

काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आपसमा सत्तासहकार्य गरेर अघि बढ्न सहमत भएका छन् । लामो समयदेखि सत्तासहकार्यबाट टाढा रहँदै आएका दुई दलका शीर्ष नेताबीच मध्यराति १२ः१५ बजे संघ र प्रदेश दुवैतिर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको हो । योसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ ।

कांग्रेसका एक नेताका अनुसार, दुई दलबीच प्रतिनिधिसभाको बाँकी ३ वर्षको कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । जसअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्ष सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

स्रोतका अनुसार, दुई दलबीच एमालेले अर्थसहित ९ र कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने सहमति बनेको छ । तर दुई दलबीच राष्ट्रिय सहमतिकै सरकार बनाउने सहमति बनेकाले अन्य दल एमाले–कांग्रेसले आह्वान गरेको सरकारमा सामेल भएको खण्डमा यी मुख्य दलले लिने मन्त्रालय संख्या घट्न सक्नेछ ।

दुई दलबीच संविधान संशोधन गर्ने दीर्घकालीन महत्त्वको अर्को विषयमा समेत सहमति जुटेको छ । त्यसका लागि निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने र त्यसैका आधारमा अघि बढ्ने कांग्रेस–एमालेको रणनीति छ ।

प्रचण्डले यसअघि दिएका धोकाको हिसाब किताब गरेर बसेको एमाले पछिल्लो समय सरकारको काम–कारबाही, नियुक्तिलगायत विषयमा सन्तुष्ट थिएन । प्रधानमन्त्रीसँग एमाले रुष्ट रहेको र कांग्रेससँग मिलेर नयाँ सरकार निर्माणका लागि प्रयास भइरहेका खबर केही दिनदेखि चलिरहे पनि एमाले अध्यक्ष ओलीले भने सोमबार मात्रै पनि सञ्चारकर्मीलाई त्यस्तो सम्भावना नरहेको प्रतिक्रिया दिएका थिए ।

एक सञ्चार उद्यमीको निवासमा भएको सहमतिमा एमाले महासचिव शंकर पोखरेल, कांग्रेस नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, आरजु राणा देउवाको उपस्थिति रहेको बताइएको छ ।

२०७९ को निर्वाचन कांग्रेससँग सहकार्य गरेर लडेको माओवादी केन्द्र निर्वाचन लगत्तै एमालेसँग सत्ता सहकार्य गर्न पुगेकोमा बीचमा फेरि कांग्रेसतिर ढल्किएको थियो । अन्तिम पटक कांग्रेस छाडेर एमालेसँग सत्तासहकार्य गर्दै आएका प्रचण्डले यस पटक आफैंले एमालेबाट धोका खाएका छन् ।