NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन् ।

नेपाली कांग्रेस र एमालेबीच बनेको सत्तासहकार्य गर्ने समझदारीले दबाबमा परेका प्रचण्डले विश्वासको मतको सामना गर्ने तर राजीनामा नदिने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । संसद फेस गर्ने र विश्वासको मत लिने कुरा गर्नुभएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका एमालेलगायत दलले समर्थन फिर्ता लिएमा प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले अन्य दलसँगको संवादलाई पनि जारी राख्ने सचिव पौडेलले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र स्वयं एमालेसँग पनि कुराकानी र छलफल गरेर अघि बढ्नेछु,’ प्रधानमन्त्रीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै पौडेलले भने ।

यसैबीच, मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उक्त भेटमा ओलीले प्रधानमन्त्रीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न भने प्रधानमन्त्री प्रचण्डले संविधान चलाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

एमाले र कांग्रेसबीच मध्यराति राजनीतिक समझदारी बनेसँगै राजनीति तरंगित बनेको छ ।