व्यक्तिको आयस्तर सुध्रिन कस्तो मौद्रिक नीति आउनुपर्छ ?

काठमाडाैं । सरकारले बजेट सार्वजनिक गरेको केही समयपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । श्रावण महिनामा मौद्रिक नीति ल्याउनको लागि हाल राष्ट्र बैकले तयारी गरिरहको छ ।
मौद्रिक नीति उद्योग व्यवसाय, बैंक तथा वित्तिय संस्था, अटो बजार, रियल सेक्टर, सेयर बजारदेखि लिएर सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको हुँदा यो विषयलाई बजेट जस्तै चासोको रुपमा हेर्ने गरिन्छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, व्याजदर, कर्जा, विनिमय दर, मुद्रास्फिति, भुक्तानी प्रणाली आदिमा प्रत्यक्ष प्रभाब पार्ने हुनाले आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
पछिल्लो समय देशको समग्र अर्थतन्त्र चलायमन हुन सकेको छैन । बैंक तथा वित्तिय संस्थामा निक्षेप तथा विदेशी मुद्रा थुप्रिएपनि कर्जा अपेक्षित तहमा प्रवाह हुन सकेको छैन । पुँजीबजार, घरजग्गा कारोबार सुस्ताएको छ । उद्योग व्यवसायमा शिथिलता छ । यी विषयलाई सम्बोधन गर्ने किसिमले मौद्रिक नीति आउनुपर्ने सरोकारवालाहरुको धारणा छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारी उत्पानशील क्षेत्रमा स्रोत बढी जानेगरी र मान्छेको बजारप्रतिको आत्मबल बढाउने किमिसले मौद्रिक नीति आउनुपर्ने बताउछन् ।
व्यक्तिको आयस्तर उकास्नको लागि पहिले देशको अर्थतन्त्र बलियो हुनुपर्छ । देशको अर्थतन्त्र तब बलियो हुन्छ जब सरकारले पुँजीगत खर्च गर्न सक्छ । तर सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । चालु आव सकिन लाग्दा पनि सरकारले लक्ष्यको ५० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको देखिन्छ ।
अर्थविद अधिकारी सरकारले पुँजीगत खर्च गर्न सके प्रोजेक्ट चल्ने र त्यसले रोजगारी सिर्जना भई व्यक्तिको आयस्तर उकास्न मदत पुग्ने विचार राख्छन् ।
उनी आगमी मौद्रिक नीति बैंकको निक्षेप कर्जा सम्बोधन गर्नेदेखि लिएर कर्जाको सही ठाउँमा उपयोग, नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउने किसिमको आउनुपर्ने बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समग्र क्षेत्रको मनोबल बढ्यो भने मात्रै व्यक्तिको मनोबल बढ्ने विचार राख्छिन् ।
उपाध्यक्ष श्रेष्ठ स्वदेशी उद्योग र कच्चा पदार्थको उत्थान गर्नका लागि विद्युतीय सुविधा, इन्सेन्टिभ दिने किसिमको मौद्रिक नीति ल्याउन सके व्यक्तिको आयस्तर राम्रो हुने बताउँछिन् ।
उनी बैंकमा पैसा थुप्रिएपनि व्यवसायीले लिन नसकेको अवस्था सिर्जना भएकोले त्यसलाई सहज बनाइदिनुपर्ने खालको मौद्रिक नीति आउनुपर्ने बताउँछिन् ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको टेलिभिजन कार्यक्रमको यो एपिसोडमा आगमी मौद्रिक नीति यसले पार्ने प्रभावसँग सम्बन्धित रहेर नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापासँग सानिमा बैंक लिमिटेडका पूर्व सिईओ भुवन दहालले गरेको छलफलको पूरा अंश तल हेर्नुहोस् :
प्रतिक्रिया