सिआइबीको सिफारिस लत्याउँदै डा.सुनिल शर्मालाई सरकारको ‘क्लिनचिट’

काठमाडौं । मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को सिफारिस लत्याउँदै नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धि कसुर मुद्दामा सरकारले क्लिनचिट दिएको छ । पर्याप्त प्रमाण हुँदा पनि सरकारी वकिल कार्यालयले डा.शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।
शर्माले एमबिबिएस अध्ययनका लागि बिहारको बिडिबिकेएस कलेजको नाममा जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि सिआइबीले दुई साताअघि उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटन दुवैले शर्मा मुद्दा नचलाउने निर्णय गरी त्यसलाई सदर गर्न महान्यायाधिवक्ताको कार्यालयमा आइतबार फाइल पठाएका छन् । सरकारकै दबाबका आधारमा यस्तो प्रक्रिया अघि बढेको हो ।
हदम्याद लगायतको कारण देखाएर मुद्दा नचलाउने निर्णय गरिएको छ । जबकी अन्य चिकित्सकको हकमा भने यती नै प्रमाणका आधारमा मुद्दा चल्ने गरेको छ । डा.शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनलाई गत वर्ष सिआइबीले पक्राउ समेत गरेकोमा पछि अदालतको आदेशमा छुटेका थिए । त्यतीबेला पनि उनको पक्राउविरुद्ध नेपाली कांग्रेसले आक्रोश व्यक्त गरेको थियो ।
प्रतिक्रिया