NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

बंगलादेशी प्रधानमन्त्री बेलायतमा शरण माग्ने तयारीमा

काठमाडौं । सरकारी जागिरमा आरक्षणको व्यवस्था संशोधनको माग राखी  विद्यार्थीहरूले थालेको आन्दोलनबाट बंगलादेशकी प्रधानन्त्री शेख हसिनाले पद त्यागेर देश छाडेकी छिन् । सैनिक विमानबाट भारत पुगेकी उनी बेलायत जाने तयारीमा छिन्।

१७ वर्षदेखि निरन्तर सत्तामा रहेकी हसिनामाथि निरंकुश शैलीमा शासन चलाएको आरोप लाग्दै आएको थियो । यद्यपी गत जनवरीमा भएको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन् । उनको दलले पनि भारी मत ल्याएको थियो ।

तर, चुनाव विवादित बनेको थियो । विपक्षी दलले प्रधानमन्त्रीले पद छाड्नुपर्ने र तटस्थ अन्तरिम सरकार गठन गरेर त्यसमार्फत् निर्वाचन गराइनुपर्ने माग राखेका थिए। उनले ती माग अस्वीकार गरेकी थिइन्।
अब बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरेको छ ।

को हुन् शेख ?
उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो।

त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गएका थिए । सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बनेको थियो ।
सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्।
सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्। देशमा आर्थिक प्रगती गरेको भएपनि निरंकुश कार्यशैली रहेको र पछिल्लो समय देशमा बेरोजगारी बढेपछि उनीविरुद्ध जनआक्रोश बढेको थियो । त्यही आक्रोशमा सत्ता मात्र होइन उनले देश नै छाड्नुपर्ने अवस्था आयो ।