NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २३ गते

एकीकृत समाजवादीमा किन रुचाइनन् रामकुमारी ?

काठमाडौं । २ भदौ ०७८ मा निर्वाचन आयोगको प्राङ्गणमा कैद एउटा दृश्य निकै भाइरल भयो । दृश्यमा अघि बढ्न हिचकिचाए जस्ताे देखिएका एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई रामकुमारी झाँक्रीले तानिरहेकी थिइन् । जीवनको उर्वर समय सिञ्चित गरेर बनाएको नेकपा (एमाले) बाट अलग भएर नयाँ दल निर्माण गर्ने निचोडसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन बोकेर गएका नेपाल पत्रकार तथा सञ्चारकर्मीबाट एकाएक घेरिएपछि झाँक्रीले उनको हात समातेर तानेकी थिइन् ।

नेकपा एमालेमा केपी ओलीको पेलान सहन नसकेर त्यहाँबाट वहिर्गमन रोजेका नेपालले ०७८ भदौमा नयाँ दल गठन गरे । नयाँ दल खोल्नका निम्ति उनलाई प्रेरित गर्नेमा राजेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, मेटमणि चौधरीलगायत नेताहरू थिए । यीमध्ये सबैभन्दा अग्रपंक्तिमा विद्रोही स्वभावकी रामकुमारी झाँक्री चट्टानझैं उभिएकी थिइन् ।

एमालेमा छँदा केपी ओली प्रवृत्तिविरुद्ध उच्च स्वर गरेकी झाँक्रीले त्यहाँबाट बाहिरिँदा पनि पुरानो लय बिगारिनन् । ओलीसँगै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति पनि उनी आक्रामक रूपमा प्रस्तुत भइरहिन् ।

त्यसो त, रामकुमारी आफ्नो अभिव्यक्तिका कारण बेलाबेला विवादमा आइरहने पात्र हुन् । विद्यार्थी राजनीतिबाट उदाएकी रामकुमारी केन्द्रीय राजनीतिमा प्रवेश गरेको लामो समय भइसके पनि बेलाबेला पुरानो धङ्धङी देख्न सकिन्छ । त्यसैले उनी कहिले आफ्ना विरोधीलाई अभद्र गाली गर्दै खुट्टा भाँच्ने धम्की दिन पुग्छिन त कहिले राजनीतिक व्यक्तिहरूको चरित्रमाथि अराजनीतिक टिप्पणी गरिदिन्छिन् ।  र पनि यी विद्रोही नेत्रीमा दोष गौण र गुण ज्यादा देखिन्छ ।

राजनीतिमा विद्रोही नेत्रीको छवि बनाएकी र त्यसकै कारण एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी झाँक्रीले मंगलबार सम्पन्न एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनमा महिलातर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । तर एकीकृत समाजवादी निर्माणको सूत्राधारमध्येकी उनै झाँक्री फराकिलो मतान्तरमा आफ्नी प्रतिस्पर्धी जयन्ती राईसँग परास्त भइन् । जयन्तीले १९९ मत हासिल गर्दा रामकुमारी मात्रै ११२ मत पाइन् ।

राजनीतिमा हार र जित एउटा स्वाभाविक प्रक्रिया हो । लोकतन्त्रको सौन्दर्य मानिने निर्वाचन परिणामलाई त अझ स्वाभाविक नै ठान्नुपर्छ । तर विद्रोही छवि बनाएकी, एकीकृत समाजवादी पार्टी निर्माणमा मुख्य भूमिका खेलेकी झाँक्री सोही पार्टीको आन्तरिक निर्वाचनमा किन पराजित भइन् ? धेरैको जिज्ञासाको विषय बनेको छ ।

औचित्यमाथिको लगातारको प्रश्न

कुनै पनि दलबाट अलग भएर त्यसको विकल्पमा नयाँ दल खोल्नु, बनाउनु भनेको अर्को उम्दा पार्टी बनाउँछु भन्नु हो । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी जन्माएपछि माधव नेपालसहितका सो पार्टीका नेताले आफ्नो पार्टी एमालेको विकल्प बन्ने निकै महत्त्वकांक्षी उद्देश्य सार्वजनिक गरेका थिए । कांग्रेस–माओवादीको ओतले गत निर्वाचनमा जेनतेन इज्जत धानेको यो दलका नेताले धरातलीय यथार्थतालाई आँखा चिम्लेर अप्ठ्यारो नमानी पहिलो पार्टी बन्ने सम्मका भाषण गर्न भ्याए । तर भुइँको टिप्न खोज्दा यो पार्टीले आफ्नो पोल्टाको जोगाउन सकेन । एमालेबाट साथ दिएर एकीकृत समाजवादीमा आएकामध्ये कतिपय नेता–कार्यकर्ता पुरानै घर फर्किए । केही फर्कंने दाउ हेरेर बसेका छन् । यसले नवनिर्मित दल एकीकृत समाजवादी अस्तित्व रक्षाकै कठिन स्थितिमा छ ।

नेकपा एमालेको विकल्प बन्ने दाबी गरेर आवेग र आक्रोसमा नयाँ दल गठन गरिए पनि त्यसको औचित्य अहिलेसम्म पुष्टि हुन सकेको छैन । माधव नेपालको पार्टीको कार्यशैली नियाल्दा आगामी दिनमा पार्टी पंक्तिबाट उठेको यो जायज प्रश्न सम्बोधन हुने सम्भावना देखिँदैन ।

एकीकृत समाजवादीमा पार्टी निर्माणको औचित्यमाथि प्रश्न उठाउनेमा तल्लो तहका नेता–कार्यकर्ता मात्र नभएर पदाधिकारीको जिम्मेवारीमा रहेकी स्वयं रामकुमारी झाँक्री समेत थिइन् । उनले त यसबाट अझै एक कदम अगाडि बढेर पार्टी निर्माणको औचित्य पुष्टि गर्न नसक्ने हो भने एकताका लागि तयार हुनुपर्ने सम्म बताउने गरेकी छन् ।

पछिल्लाे पदाधिकारी निर्वाचनबाट एकीकृत समाजवादीमा देखिएको माधव नेपाल र घनश्याम भुसालको दुवै गुट रामकुमारीको यस्तो अभिव्यक्तिबाट झस्किएको छ । त्यसैले दुवै गुटको रोजाइमा झाँक्री नभए पनि देखाउनकै लागि माधव नेपालले उनलाई आफ्नो प्यानलमा समेटेर भोट मागिदिएका थिए । तर माधवपक्षीय केन्द्रीय सदस्यले नै उनलाई भोट दिन आनाकानी गरे ।

स्रोतका अनुसार रामकुमारी झाँक्रीको पार्टीभित्रको अहिलेको हारको मुख्य कारण उनको आत्मसमर्पणवादी सोच हो ।

‘रामकुमारीजीले पार्टी निर्माणको औचित्य पुष्टि नभएको विश्लेषणसहित केही गर्न नसक्ने हो भने एकताका लागि तयार हुनुपर्ने मत राख्दै आउनुभएको थियो,’ सो पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘केपी ओलीको अधिनायकवादी शैलीले पेलिएर नयाँ दल गठन गरेका एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरूलाई विद्रोही झाँक्रीको आत्मसमर्पणवादी कुरा मन परेन । त्यही कुरा उनीहरूले पदाधिकारी निर्वाचनमा मतदानमार्फत व्यक्त गरेका हुन् ।’

निष्क्रियता

पार्टीभित्रका आलोचकले झाँक्रीलाई पुरानो छवि गुमाएर एमालेतर्फ ढल्किएको आरोप लगाए पनि उनी भने एकीकृत समाजवादीको केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्ने बताउँछिन् ।

झाँक्रीले निर्वाचन परिणामलाई सहज रूपमा लिने बताउँदै पार्टीमा सक्रिय हुने मनस्थिति सार्वजनिक गरे पनि उनी केही समयदेखि पार्टीमा निष्क्रिय रहँदै आएको नेताहरू बताउँछन् ।

पार्टीको महाधिवेशनपूर्व सचिवको भूमिकामा रहे पनि पदीय जिम्मेवारीअनुरूपको काम नगरेको झाँक्रीमाथि आरोप छ । झाँक्रीको लोकप्रियता आफ्नै पार्टीभित्र कमजोर हुनुको अर्को कारण उनको आफ्नै कार्यशैली भएको बताइन्छ ।

‘मन्त्रीबाट फिर्ता भएपछि झाँक्रीजी पार्टी गतिविधिमा कम सक्रिय हुनुभयो,’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘सचिव काम गर्ने पद भए पनि उहाँ त्यसो गर्न छाडेर आलोचनामा मात्र रमाउनुभयो । अघिल्लो कार्यकालमा भूमिकाअनुरूपको काम नगरेकाले पनि उहाँलाई अपेक्षित मत परेन ।’

जयन्तीको लोकप्रियता

राष्ट्रिय राजनीतिमा झाँक्री चिनिएकी पात्र भए पनि जयन्तीको त्यो उचाइ छैन । तर पार्टीभित्र भने उनी लोकप्रिय छिन् ।

सबैसँग मिल्ने, कसैलाई नबिझाउने जयन्तीको स्वभाव रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । राष्ट्रियसभा सदस्यसमेत रहेकी राईलाई यही स्वभावका कारण माननीय बनाउन एमालेकै कतिपयले मतदान गरेको उतिबेला चर्चा चलेको थियो । हुन पनि गठबन्धनका अर्का उम्मेदवार पराजित हुँदा उनी भने सबैभन्दा बढी मत ल्याएर विजयी हुन सफल भएकी थिइन् ।

एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्रीको हारमा जयन्तीको यही स्वीकार्य व्यक्तित्वले पनि काम गरेको कतिपय बताउँछन् ।

अब के गर्लिन् झाँक्री ?

आफैंले निर्माण गरेको पार्टीको आन्तरिक निर्वाचनमा पराजित बनेपछि झाँक्रीको राजनीतिक जीवनलाई लिएर चासो सुरु भएको छ । उनी अब एकीकृत समाजवादीमै रहलिन् कि पुरानो दल एमालेतिर फर्किलिन् भन्ने जिज्ञासा धेरैले राखेका छन् ।

स्रोतका अनुसार, निकटस्थसँग झाँक्रीले नेपाल र भुसालको सहयोगका कारण आफू पराजित हुन पुगेको बताएकी छन् ।

‘नेपाल र खनालले दाउपेच गर्दा मैले हारेँ,’ झाँक्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेपाल र भुसालसँग चित्त दुखाएकी रामकुमारी अब के एमालेतिरै फर्किलिन् त ? उनी निकट एक नेताका अनुसार झाँक्री तत्काल एमालेमा फर्कंने सम्भावना छैन । ‘चुनावमा हारजित सामान्य हो । आन्तरिक चुनावको एउटा परिणामले नै विचलित हुने मान्छे उहाँ होइन,’ ती नेताले भने ।