NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

क्रान्तिविरुद्धका षड्यन्त्र चिर्न संघर्षको विकल्प छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिको प्रयास भइरहेको बताएका छन् । क्रान्तिका प्राप्त उपलब्धि उल्ट्याउन प्रयास भइरहेकाले त्यसविरुद्ध संघर्षको विकल्प नभएको उनले बताए ।

माओवादीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आइतबार बिहान सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्रान्तिले प्राप्त व्यवस्थाको उपयोग गर्नेहरूले नै त्यस्तो प्रयास गरेको दाबी गरे । प्रचण्डको संकेत एमाले, कांग्रेसतर्फ भए पनि उनले त्यस्तो प्रयास कुन दलबाट भइरहेको छ भन्नेबारे विस्तारमा केही खुलाएनन् ।

‘क्रान्तिबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास यही व्यवस्थाको उपयोग गर्नेबाट भइरहेको छ,’ प्रचण्डले भने, ‘त्यसलाई निस्तेज गर्न एउटा संघर्ष आवश्यक भएको छ ।’

प्रचण्डले जनयुद्धको उपलब्धि उपयोग गर्ने र त्यसैलाई अपमान गर्ने गतिविधि भएको भन्दै असन्तुष्टि पनि पोखे ।

‘जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसविरुद्ध संघर्षको संकल्प नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ,’ प्रचण्डले भने ।