गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृतलाई भ्रष्टाचारमा ३–३ महिना कैद
काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई ३–३ महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
सिराहाको मझौरामा मधेश प्रदेश सरकारको सांसद अनुदान रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७७–७८ मा गाउँपालिकाको वडा नं २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा कार्य पूरा गर्नुपर्नेमा त्यसो नगरी भुक्तानी दिइएको थियो ।
यो मुद्दामा गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव , तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा नं ४ का अध्यक्ष मदन यादव र वडा नं ५ का अध्यक्ष मनोजकुमार यादव पनि यस मुद्दामा दोषी ठहर भएका छन् ।
उनीहरू अनुगमन समितिमा रहे पनि हुँदै नभएको काम सम्पन्न भएको भनी अनुगमन प्रतिवेदन पेस गरेर भुक्तानी दिएका छन् ।
वडा नं २ का अध्यक्ष खुसीलाल साहलाई पनि विशेषले ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ। उनले हुँदै नभएको काम भएको भनी सिफारिस गरेका थिए।
विशेषले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई ३ महिना कैद तोकेको छ। उनीहरूले बदनियतपूर्वक झुठा बिल पेस गरेको अदालतको ठहर छ।
प्रतिवादी कुसियैत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए भने लेखापालका रूपमा सोमप्रसाद आचार्य थिए। यसैगरी, इन्जिनियर र सबइन्जिनियरका रूपमा कृष्णा साह र सन्तोषकुमार यादव कार्यरत रहेकोमा उनीहरूले गलत प्राविधिक मूल्यांकन प्रतिवेदन दिएको तथा त्यसैका आधारमा भुक्तानी प्रक्रिया अघि बढेको अख्तियारको अभियोगपत्रमा थियो।
प्रतिक्रिया