कर्मचारीलाई शेयर कारोबारमा रोक
काठमाडौं । सरकारले कर्मचारीलाई शेयर कारोबारमा रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शेयर कारोबारका लागि चाहिने ट्रेड म्यानेजमेन्ट सिष्टम(टिएमएस) नै सरकारी कार्यालयमा नचल्ने बनाउने भएको छ ।
सो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा सरकारी काम मात्र गर्न आग्रह गरेका छन् । सरकारी कार्यालयमा कार्यालय समय भरि शेयर कारोबार गर्नु अमान्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी काममा मात्र ध्यान दिन उनले भनेका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्न नमिल्ने गरी टीएमएस बन्द गर्न भनेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही दिनअघि सरकारलाई यससम्बन्धि सुझाव दिएको थियो ।
प्रतिक्रिया