सुरु भयो रास्वपाको राष्ट्रिय भेला, १५०० प्रतिनिधि सहभागी, दुई दिनसम्म चल्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजबाट सुरु भएको छ ।
काठमाडौंको प्रज्ञा भवन, कमलादीमा दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५०० प्रतिनिधि सहभागी छन् ।
पार्टी सभापति रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी बजाएर मंगलबार बिहान राष्ट्रिय भेलाको शुभारम्भ गरे ।
त्यसअघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिएको छ ।
भेलाको पहिलो दिन बुधबार विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ ।
आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची पनि छ ।
प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर बुधबार समूहगत छलफल हुने रास्वपाले जनाएको छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला समापन हुनेछ ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ । राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
प्रतिक्रिया