यी दुई राजमार्गमा गुड्न थाले गाडी

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।
जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।
बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ ।
सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए ।
दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा मेसिन चलाइएको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया