रास्वपाले आज प्रधानमन्त्रीनिवास अगाडि प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीनिवास बालुवाटार अगाडि मंगलबार प्रदर्शन गर्ने भएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा श्रृखलाबद्ध प्रदर्शन गर्दै आएको रास्वपाले मंगलबार काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले रविलाई हिरासत राखिएको कास्कीलगायत जिल्लामा विरोध कार्यक्रम गर्दै आइरहेको थियो ।
रास्वपाले मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदर्शन गर्न लागेको जनाउँदै सहभागी भएर सहयोग गर्न सबैमा अपिल गरेको छ । प्रदर्शनमा पार्टी उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, नेताहरू सुमना श्रेष्ठ, सन्तोष परियार, सोविता गौतमलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसको मागअनुसार एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा लामिछाने प्रत्यक्ष संलग्न नभएको निचोड निकाले पनि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि भन्दै प्रहरीले गत कात्तिक २ गते लामिछानेलाई पक्राउ गरेर कास्कीस्थित प्रहरी हिरासतमा राखेको छ । लामिछाने र उनको दल रास्वपाले सहकारी ठगीमा संलग्नता नहुँदा नहुँदै पनि राजनीतिक प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै त्यसयता लगातार सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया