NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

हेटौंडा सिमेन्टको दुर्दशा, बनेन मेसिन, अन्योलमा उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ ।

उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।

उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएको कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए ।

“उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मत कार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौं । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ,” उनले भने ।

उद्योगबाट यही असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धी काममा थप समय लागेको जानकारी दिँदै अध्यक्ष भण्डारीले तीव्र रूपमा मर्मतसम्भार भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताए । “हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ, त्यसैले कोइलाको समस्या छैन,” उनको भनाइ थियो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए ।

विसं ०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना गरिएको उक्त उद्योगले विसं ०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष