निरन्तर बढ्दै शेयर धितो कर्जा, कुन बैंकले कति प्रवाह गरे ?

काठमाडाैं । पछिल्लो समय शेयर धितो कर्जा ह्वातै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएपछि शेयर धितो कर्जा निरन्तर बढ्न थालेका हुन् । त्यस्तै पछिल्लो समय बैंकहरूमा थुप्रिएको तरलता र शेयर बजारमा छाएको केही सहजताले लगानीकर्ताहरू उत्साहित हुँदा शेयर कर्जा बढ्न थालेको जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव ०८१/०८२ असोज मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तिय संस्थाले १ खर्ब ५ अर्ब ८ करोड मार्जिन प्रकृतिको सेयर कर्जा प्रवाह गरेको छ । भदौको तुलनामा असोज महिनामा ६ अर्बभन्दा बढीले सेयर धितो कर्जा बढेको हो ।
भदौमा बैंक तथा वित्तिय संस्थाले ९९ अर्ब ७४ करोड शेयर धितो कर्जा प्रवाह गरेका थिए । त्यस्तै असारमा बैंक तथा वित्तिय संस्थाबाट यस्तो प्रकारको कर्जा ९० अर्बको हाराहारीमा प्रवाह भएको थियो ।
कुन बैंकले कति प्रवाह गरे ?
राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकबाट असोज मसान्तसम्ममा ८४ अर्ब २१ करोड रूपैयाँ बराबरको शेयर धितो कर्जा बजारमा गएको छ । भदौमा वाणिज्य बैंकहरूले ७९ अब ७४ करोड रूपैयाँको शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
असोज मसान्तसम्ममा विकास बैंकहरूले भदौमा भन्दा एक अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले १७ अर्ब ३८ करोड शेयर धितो कर्जा प्रवाह गरेका हुन् । विकास बैंकहरूले भदौमा मात्रै १६ अर्ब ३२ करोड शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै वित्त कम्पनीहरूले असोज मसान्तसम्ममा ४ अर्ब २३ करोड शेयर धितो कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया